भारतले सीमावर्ती क्षेत्रमा एफएम स्टेशन खोल्ने
काठमाडौं, २९ असोज । नेपालमाथि अघोषित नाकाबन्दी गर्दै आएको भारतले सीमावर्ती क्षेत्रमा एफएम रेडियो स्टेशन खोल्न चासो देखाएको छ । भारतको केन्द्रीय गृहमन्त्रालयमा बिहीबार बसेको विशेष बैठकमा गृहमन्त्री राजनाथ सिंहसमक्ष अधिकारीहरुले यसबारे जानकारी गराएको विभिन्न भारतीय संचारमाध्यमले जनाएका छन् ।
नेपाल–भारत सीमा सुरक्षा प्रवन्धको समीक्षा गर्न बसेको बैठकमा भारतका बिहार, उत्तर प्रदेश, उत्तराखण्ड राज्यका अधिकारीहरु सहभागी रहेको स्रोतले जनाएको छ । बैठकमा ती राज्यका सुरक्षा प्रतिनिधिहरुले नेपालसँगको सीमावर्ती क्षेत्रमा एफएम रेडियो स्टेशन खोल्नका लागि भारतीय सूचना एवं प्रशारण मन्त्रालयसमक्ष प्रस्ताव गरिएको विषयसमेत गृहमन्त्री राजनाथ सिंहलाई जानकारी गराएका थिए ।
भारतले एकाएक सीमावर्ती क्षेत्रमा एफएम रेडियो स्टेशन खोल्ने विषयमा किन चासो राख्यो भन्नेबारे स्पष्ट हुन नसके पनि भाषा, संस्कृतिको समानता रहेको नेपालका तराईबासीमा प्रभाव जमाउनकै लागि यो कदम चाल्न लागिएको अनुमान गर्न सकिन्छ ।
बैठकमा सीमा क्षेत्रमा ढाँचागत विकास परियोजनाको समीक्षा गर्नुका साथै सीमावर्ती क्षेत्रमा परियोजनाहरुका लागि प्रशासनिक एवं पर्यावरणीय स्वीकृतीका बारेमा समेत चर्चा भएको भारतीय टेलिभिजन च्यानल ‘जी न्यूज’ तथा भारतीय दैनिक पत्रिका ‘सहारा’ को अनलाइन संस्करणले जनाएको छ ।
‘न्यूजग्राम’को अनलाईन संस्करणमा जनाइएअनुसार नेपालसँगको सीमावर्ती क्षेत्रमा एफएम स्टेशन खोल्नका लागि सूचना एवं प्रशारण मन्त्रालयसमक्ष प्रस्ताव गरिनुका साथै बिहार, उत्तर प्रदेश र उत्तराखण्डका सीमावर्ती सडकको निर्माणमा भइरहेको प्रगतिका बारेमा समेत चर्चा भएको थियो ।
बैठकमा सीमापार हुने अपराध, नक्कली भारतीय रुपैयाँको तस्करी, लागू पदार्थको कारोबार, मानव तस्करी र भारत विरोधी दुष्प्रचारजस्ता विषयमा गम्भीर छलफल भएको भारतीय संचारमाध्यमले जनाएका छन् । – एजेन्सी