आज तलेजु मन्दिर सर्बसाधारणको लागि खुल्ला
काठमाडौं, ५ कात्तिक । हरेक वर्ष महानवमीको दिन मात्रै खुल्ने तलेजु मन्दिर आजपनि खुला हुदैछ । महानवमीको अवसरमा खुल्ला गरिने उपत्यकाको तीनै तलेजु भवानीको मन्दिरआज सर्वसाधारणको दर्शनका लागि खुल्ला गरिएको छ । सत्रौं शताब्दीमा मल्ल राजा जयप्रकाश मल्लले तलेजु भवानीसंग त्रिपाशा खेल्ने गरेको किंवदन्ती छ । किंवदन्तीका अनुसार राजा जयप्रकाशले कुदृष्टिले हेरेपछि तलेजु भवानी त्यहाँबाट हराएकी थिइन् । राजाले क्षमा माग्दै धेरै रोइकराइ गरेपछि तलेजुले वर्षको एक पटक मात्र आउँछु भन्ने वचन दिएकीले हरेक वर्ष महानवमीका दिन तलेजु भवानी आफ्नो मन्दिरमा आउने विश्वासका साथ मानिसहरुको घुँइचो लाग्ने गर्दछ ।
एक अर्को किंवदन्तीका अनुसार उनै त्रिपाशा खेल्ने तलेजु भवानी बालिकाको शरीर भित्र कुमारीको रुपमा प्रवेश गरेको जनविश्वास छ । त्यसैबेला देखि काठमाडौ, ललितपुर र भक्तपुरमा कुमारी लक्षण भएकी बालिकालाई कुमारीको रुपमा पुजिन थालिएको हो ।
कुमारी पुजिने चलन सबैभन्दा पहिले भक्तपुरबाट शुरु भएर पछि काठमाडौ र ललितपुरमा विस्तार भएको हो। भक्तपुरमा कुमारीलाई एकान्त कुमारीको रुपमा पुजिन्छ । नवमीको दिन तलेजु मन्दिरसँगै कुमारीको पनि दर्शन गर्ने चलन छ भने विजयादशमीको दिन जीवित देवी कुमारीको हातबाट टीका थाप्ने चलन छ । साथै नेवार समुदायमा नवमीको दिन घरघरमा ससाना बालिकालाई मयूरको आसन बनाएर रातो लुगा सहित श्रृगार गरेर निधारभरी चन्द्राकार टीकाले भरेर कुमारी पुजा गर्ने गरिन्छ ।
मल्लकाल देखि नै राष्ट्रप्रमुखले पनि दसैकाे टीका थाप्ने चलन छ । कुमारीको उपस्थितिमा उपत्यकामा हुने प्रमुख चाडपर्व सम्पन्न हुने गर्दछ । कुमारी हुन्जेल कुमारी हुने बालिका बाहिर निस्कन नहुने, भुईमा खुट्टा राख्न नहुने, कसैसँग बोल्न नहुने लगायतका नियममा बाँधिने गर्दछ । पूर्व कमारीलाई सरकारले महिनामा एक हजार रुपैयाँ भत्ता दिने गरेको ललितपुरका पूर्व कुमारी समीता बज्राचार्यका आमा पूर्ण शोभा बज्राचार्यले बताउनु भएको छ । बज्राचार्य २०६७ मा ८ वर्षको उमेरमा कुमारी बन्नु भएको थियो भने २०७० फागुनमा कुमारीबाट हट्नु भएको हो ।
हाल ललितपुरमा यूनिका बज्राचार्य कुमारी हुनुहुन्छ भने काठमाडौंमा मतिना शाक्य र भक्तपुरमा जेनिशा शाक्य कुमारी हुनुहुन्छ। पहिले भक्तपुरको एकान्त कुमारी मूल कुमारी हुने गरेकोमा राजधानी भक्तपुरबाट काठमाडौंमा सारेपछि काठमाडौंको कुमारी मूल कुमारी हुन पुगेको हो।