धौलागिरि आइसफल पदमार्ग तयार
काठमाडौं, ११ कार्तिक । सडक सञ्जाल विस्तारसँगै विस्थापित वनेको बेनी–जोमसोम पदमार्गको वैकल्पिक रुटको रुपमा पहिचान गरिएको ‘धौलागिरि आइसफल पदमार्ग’ तयार भएको छ । म्याग्दीका विभिन्न नौ गाविसको उच्च पहाडी र हिमाली क्षेत्रलाई समेटेर मुस्ताङ जोड्ने पदयात्रा अर्न्तगत विभिन्न स्थानमा व्यवस्थित पदमार्ग निर्माण गरिएको हो ।
पदमार्गले म्याग्दीको पिप्ले, भगवती, बेगखोला, दग्नाम, दोबा, भुरुङ तातोपानी, दाना, चिमखोला र कुइनेमङ्गले गाविसलाई समेटेको छ । पर्यटन मन्त्रालयबाट विनियोजन भएको १० लाख रूपैयाँ बजेटबाट यो वर्ष रुइसे, भेडिओढार हुँदै मुटुकाटेसम्म र चिमखोलाको फेदीदेखि पैराखर्क हुँदै दहबुकिसम्म पदमार्ग निर्माण गरिएको पदमार्ग व्यवस्थापन समितिका अध्यक्ष धुब्रकुमार पाइजाले बताए ।
उनका अनुसार गत वर्ष टान पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर पोखरा र जिल्ला विकास समितिको ७ लाख रूपैयाँ लगानीमा बेगको धुरीदेखि पछेत्राडिल, पानी डाक्ने डाँडा, दोबाको खोलाखर्क, सोबाङ धुरी हुँदै ल्होसो धुरीसम्म पदमार्ग निर्माण गरिएको थियो ।
‘अब प्रारम्भिक चरणको पदमार्ग निर्माण गर्ने काम सकिएको छ, नक्साङ्कन गरी सूचनामुलक सङ्केत बोर्ड राख्न सके सजिलै पर्यटक घुम्न सक्छन्’ उनले भने ।
पदमार्ग व्यवस्थापन समितिले सङ्केत बोर्ड राख्न नक्साङ्कनका लागि सहयोग गर्न टान पश्चिाञ्चललाई आग्रह गरेको छ । करिब एकसाता समयको यस पदयात्रा अर्न्तगत भम्रणमा आउने पर्यटक रुइसे, पछेत्राधुरि, खोलाखर्क, सोबाङधुरी, ल्होस र दहबुकीमा रात बिताउने छन् ।
दहबुकिबाट मुस्ताङको लेते झर्न सकिन्छ । म्याग्दीको कुइनेमङ्गबाट चिमखोलाको फेदी हुँदै पनि फर्कन सकिने व्यवस्थापन समितिका अध्यक्ष पाइजाको भनाइ छ । पदयात्रा अर्न्तगत तीन हजार आठ सय मिटर उचाइको सोबाङधुरी, चार हजार ५०० मिटर उचाइको दहबुकीजस्ता अग्ला ठाउँहरु प्राकृतिक भ्यु टावरको रुपमा रहेका छन् ।
अहिलेसम्म सञ्चालनमा नआएको र सडक सञ्जालले नछुने यस पदमार्गलाई कुमारी पदमार्गको रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको पदमार्ग व्यवस्थापन समितिका सल्लाहकार देवेन्द्रबहादुर केसीले जानकारी दिए । – रासस