लगातारको झरीले भूकम्प पीडितको बिचल्ली

२०७२ कार्तिक १३ गते, शुक्रबार

काठमाडौं,१३ कात्तिक । लगातारको झरी र हिमपातसँगै चिसो बढेपछि भूकम्पपीडितको अवस्था थप कष्टकर बनेको छ । बैशाख १२ गतेको भूकम्पका कारण घर भत्किएर टहरा र पालमुनी बसिरहेकाहरु चिसो बढेपछि प्रभावित भएका हुन् । विशेषगरी बालबालिका, बिरामी, सुत्केरी र वृद्धवृद्धालाई समस्या भएको छ । भूकम्पले घर भत्काएपछि अस्थायी टहरा र पालमा बस्दै आएका सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, धादिङ, काभ्रे, रसुवा, लमजुङ लगायत जिल्लाका पीडित यतिबेला वर्षा र हिमपातले कठ्याँग्रिएर बस्न बाध्य छन् ।
यसैबीच, हिजो दिनभर झरी र हिमपात भएको मौसममा आजदेखि सामान्य सुधार हुन थालेको छ । अहिले पूर्व बाहेक देशभरको मौसम सामान्य मात्र बदली भएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । पूर्वमा भने पूर्ण बद्ली भएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार आज पूर्व बाहेकका क्षेत्रमा सामान्य बद्ली भएपनि हिजो भन्दा मौसममा सुधार आउनेछ । पूर्वमा भने आज लगातारजसो झरी पर्ने सम्भावना छ । पश्चिमी वायु र अरब सागरमा विकास भएको न्यूनचापीय रेखा पूर्वतर्फ प्रवेश गरेकाले आज देशको पूर्वी भेगमा मेघगर्जन सहित पानी पर्ने अनुमान गरिएको हो । मध्य र पश्चिम तथा सुदूरपश्चिमका केहि ठाउँमा भने हल्का पानी पर्ने मौसमविद् कँडेलले बताए ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको पछिल्लो जानकारी अनुसार हिजो दिउँसो र राती दाङ र पोखरामा सबैभन्दा धेरै पानी परेको छ । दाङमा १८ दशमलव ८ र पोखरामा १७ दशमलव ७ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ । झरीसँगै देशभर चिसो बढाएको छ । हिमाली र उच्च पहाडी भेगमा हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । आज पनि हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । यसले गर्दा आजदेखि चिसो झन् बढ्ने मौसमविद्ले बताएका छन् । काठमाडौंमा आजको न्यूनतम तापक्रम १२ दशमलव २ डिग्रीमा झरेको छ । हिजो अस्ति न्यूनतम तापक्रम १३÷१४ डिग्री सेल्सियस थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सहिद मित्रमणी आचार्यको शालिक अनावरण

२०८२ बैशाख १९ गते, शुक्रबार

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८२ बैशाख १८ गते, बिहीबार

शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार