पाण्डाको दिसाबाट जैविक तेल !

२०७२ कार्तिक १४ गते, शनिबार

काठमाडौं । बेल्जियमका शोधकर्ताहरूले भीमकाय पाण्डाले त्याग्ने आचीको अध्ययन गरेर त्यसबाट नयाँ किसिमको जैविक तेल (बायोफ्युल) आविष्कार पो गर्न सकिन्छ भनी अध्ययन गरिरहेका छन् । पाण्डाले कडा किसिमको घाँसजन्य वस्तु खान्छ र त्यसलाई मज्जाले पचाएर फ्याँक्ने दिसाको यान्त्रिकता बुझ्न सक्दा बायोफ्युल बनाउन काम लाग्न सक्ने शोधमा संलग्न वैज्ञानिकहरूले जनाएका छन् ।
पाण्डाको मुख्य खान्की भनेको बाँस हो । यसले कडा बाँसलाई चपाएर पनि पचाउन सक्छ । यस किसिमको पाचन प्रणाली अन्य प्राणीमा पाइँदैन । वैज्ञानिकहरूले पाण्डामा पाइने सूक्ष्मअंगले कसरी काम गर्दोरहेछ भन्ने जान्न चाहिरहेका छन् ।
पाण्डाको खान्कीमा प्रयोग हुने कडा बाँसलाई पचाउने क्रियामा जुन इन्जाइम प्रयोग हुन्छ, त्यो नितान्त नयाँ किसिमको इन्जायम हो, घेन्ट विश्वविद्यालयका बायोकेमिकल तथा माइक्रोबायल टेक्नोलजीका प्राध्यापक कोरनील रबेईले भने । बेल्जियमको पैरी डायजा चिडियाखानामा रहेको ठूलो पाण्डाअगाडि उभिएका रबेईले यस किसिमको सूत्र थाहा पाउन पाए काम लाग्थ्यो भन्ने सोचिरहेका छन् ।
यदि यो पत्ता लगाउन सकेको खण्डमा हामीले नयाँ, सस्तो किसिमको दोस्रो पुस्ताको बायोफ्युल बनाउन सक्षम हुने थियौं, उनले भने । यसअघि पनि बायोफ्युल बनाउने प्रयास भएको थियो र त्यसका लागि मकैको अन्न र उखु प्रयोग गर्ने गरिएको थियो ।
छ वर्षे पाण्डा जिङ हुई (चम्किलो तारा) र उसको स्त्री साथी हाओ हाओ (दयालु) ले तिनको आची वैज्ञानिकहरूले गएको सोमबार सोहेर्दै गर्दा बिल्कुलै चासो देखाएनन् । यी दुवैले दैनिक १० केजी बाँसका पात र हाँगाबिँगा खाने गर्दछन् ।
यो अध्ययनले मानव जातिलाई मात्र होइन पाण्डालाई पनि सहयोग हुन्छ, वैज्ञानिक रबेईले भने, यसले हामीलाई के बुझ्न सघाउँछ भने आदिकालदेखि यी जनावरहरूले खाली विशेष किसिमको खान्की मात्रै किन खान्छन् ? यिनीहरूलाई बाँसका कलिला मुना र हाँगाबिँगा नै किन मन परेको होला भन्ने बुझ्न पनि सघाउ पुग्ने आशा मैले लिएको छु ।– एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]