म्यानमारमा आम निर्वाचन हुदै

२०७२ कार्तिक २२ गते, आईतवार

काठमाडौ, २२ कात्तिक । २५ वर्ष लामो सैनिक शासनपछि म्यानमारमा आज आम निर्वाचन शुरु भएको छ । दशकौं पछि म्यानमारमा प्रजातन्त्र बहालीका क्रममा संसदका लागि आम निर्वाचन शुरु भएको हो । निर्वाचनमा सत्तारुढ सैन्य समर्थित यूनियन सोलिडारिटी डेभलपमेन्ट पार्टी तथा प्रजातन्त्रवादी नेतृ आङसाङ सुचीको नेशनल लिग फर डेमोक्रेसी पार्टीबीच नै मूख्य प्रतिस्पर्धा हुने देखिएको छ । सूचीको पार्टीले ठूलो सफलता प्राप्त गर्ने अनुमान गरिएको छ । यद्यपि, सुचीलाई राष्ट्रपति बन्नबाट भने रोक लागाइएको अवस्था छ ।
तीन करोड मतदाता रहेको यस निर्वाचनले दिने परिणामलाई स्वीकार्ने प्रतिवद्धता राष्ट्रपति थिन सेनले व्यक्त गरिसकेका छन् । चुनावको परिणामलाई सरकार र सेनाले स्वीकार्ने भन्दै उनले चुनावी नतिजाले म्यानमारको आगामी राजनीतिक परिदृष्य तयार हुने बताए ।
सन् १९९० मा भएको चुनावमा म्यानमारकी विपक्षी नेतृ आङसाङ सुचीको पार्टी एनएलडीले बहुमत ल्याए पनि सैन्य शासकले चुनावी नतिजा अस्वीकार गर्दै नेतृ सुचीलाई एक दशकभन्दा लामो समयसम्म नजरबन्दमा राखेको थियो । नोबेल शान्ति पुरस्कार विजेता सुचीलाई यसपटक पनि धोका हुने हो कि भन्ने चिन्ता छ ।
म्यानमारको संविधानले २५ प्रतिशत सिट सेनाका लागि आरक्षित गरेको छ । यसमा बहुमत जुटाउन सुचीको पार्टीलाई कम्तिमा ६७ प्रतिशत सिट जित्नुपर्ने हुन्छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]