पाकिस्तानी प्रधानमन्त्रीले तिहारको शुभकामना दिए

२०७२ कार्तिक २६ गते, बिहीबार

काटमाडौं, २६ कात्तिक । पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले आफू मुस्लिम समुदायको ब्यक्ति भए पनि हिन्दुहरुलाई साथ दिने प्रतिबद्धता ब्यक्त गरेका छन् । तिहारको उपलक्ष्यमा पाकिस्तानमा रहेका हिन्दुहरुलाई शुभकामना दिने क्रममा प्रधानमन्त्री शरीफले जातीय भेदभावको अन्त्य गर्न आग्रह गदै हिन्दुहरुमाथि ज्यादती गर्ने मुस्लिम समुदायका जो सुकैलाई कडा कारबाही गर्ने बताए ।
उनले भने, ‘कोही अत्याचारको शिकार भइरहेको छ भने उसको सम्बन्ध जुनसूकै धर्म–सम्प्रदायको भए पनि उसलाई मद्दत गर्नु मेरो जिम्मेवारी हो ।’
हिन्दुमाथि अत्याचार भयो र अत्याचार गर्ने समुदाय मुस्लिम रहेछ भने पनि आफू स्वयं मुस्लिम हुनका बाबजुद त्यस्ता अत्याचारीविरुद्ध कारवाही गर्ने उनको भनाई थियो ।
उनले पाकिस्तानी हिन्दु मित्रहरुलाई आगामी वर्ष त्यस्तो स्थानमा आफूलाई आमन्त्रण गर्न आग्रह गरे जहाँ दीपावली गरिन्छ । उनले हालीका अवसरमा हिन्दु धर्मावलम्बीले आफूलाई रङ लगाइदिएमा निकै खुशी लाग्ने पनि उल्लेख गरे ।
पाकिस्तानको इतिहासमा कुनै पनि प्रधानमन्त्रीले हिन्दुहरुको महान चाडमा शुभकामना दिएको यो पहिलो पटक हो । पाकिस्तानका हिन्दु धर्मावलम्बीहरुले पाकिस्तानी प्रधानमन्त्री शरीफको खुलेर प्रशंसा गरेका छन् ।
यसैगरी विपक्षी पार्टी ‘पाकिस्तान पिपुल्स पार्टी’ र ‘तहरिक–ए इन्साफ’ पार्टीका नेताहरुले पनि हिन्दुहरुको चाड दिपावली मनाएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
पाकिस्तानमा अल्पसंख्यक हिन्दुको धार्मिक चाडमा प्रमुख पार्टीका नेताहरु सहभागी भएको यो पहिलो अवसर हो । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]