मोदीले फेरी खोके , ‘भारत बुद्धको भूमि हो ‘
काठमाडौं, २७ कात्तिक । नेपालमाथि नाकाबन्दी गर्दै आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायत पुगेर ‘भारत बुद्धको भूमि हो’ भन्ने अभिव्यक्ति दिएर नेपालीलाई थप चिढ्याएका छन् । भारतमा भइरहेको धार्मिक असहिष्णु व्यवहारका बारेमा सोधिएको एक प्रश्नको जवाफमा मोदीले ‘भारत बुद्ध र गान्धीको भूमि हो’ भनेका हुन् । भारतीय संचारमाध्यमले पनि मोदीले भारतलाई बुद्धको भूमि भनेको समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।
बेयायतका प्रधानमन्त्री डेविड क्यामरुनसँग दुई पक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नको जवाफमा उनले भने, ‘भारत बुद्ध र गान्धीको भूमि हो । भारतको कुनै पनि कुनामा घटेको घटना हाम्रो लागि गम्भीर महत्वको विषय हुन्छ ।’ उनलाई गुजरात दंगाबारे पनि पत्रकारहरुले प्रश्न गरेका थिए । जवाफमा उनले बेलायतले आफूलाई कहिल्यै पनि बेलायतको यात्रा गर्नबाट नरोकेको बताए । उल्लेखनीय छ, दुई सयभन्दा बढी लेखकले बेलायतका प्रधानमन्त्री डेविड क्यामरुनलाई मोदीसँगको भेटवार्तामा भारतमा बढ्दो असहिष्णुताको मुद्दा उठाउन लिखित आग्रह गरेका थिए । – एजेन्सी