आजवाट कात्तिक नाच
काठमाडौं,३० कात्तिक ।राजा सिद्धिनरसिंह मल्लको पालादेखि चल्दै आएको ललितपुरको ऐतिहासिक कात्तिक नाच आजदेखि सुरु हुँदैछ । ३ सय ७५ वर्षदेखि निरन्तर रुपमा संचालन भइरहेको सो नाच केही वर्ष अघिसम्म २७ दिनसम्म देखाइएको भएतापनि बजेट अभावका कारण यसवर्ष १० दिनमा सिमित गर्न लागिएको छ ।
यसवर्ष आर्थिक अभावका कारण दश दिनसम्म मात्र संचालन गर्न लागिएको कार्तिक नाच संरक्षण समितिले जनाएको छ । समितिका अनुसार नाच संचालन गर्न सात लाख भन्दा बढी लाग्ने भएपनि संस्कृति मन्त्रालय, ललितपुर उपमहानगरपालिका, ललितपुर उद्योग वाणिज्य संघ र पाटन संग्राहालयबाट अत्यन्तै कम मात्र आर्थिक सहयोग प्राप्त भएकोले नाच संचालन गर्न समस्या भएको छ । हरेक दिनको नाचका लागि पाटन दरबार क्षेत्रमा रहेको नासल चोकमा एक सय जना कलाकार भेला भएर नाचको तयारीमा व्यस्त हुने गर्दछन् । विशेष गरेर कृष्णलिलामा आधारीत नाचमा दिनैपिच्छे फरक फरक नाचहरु देखाइने गरिन्छ । मंगलबजारको कात्तिक डबलीमा हरेक दिन बेलुकी ७ बजे हुने नाच मंसिर ९ गतसम्म चल्नेछ ।