इन्धन सम्झौता गर्न नेपाली टोली चीन जाँदै
काठमाडौ, ३ मंसिर । आज चीनसँग इन्धन सम्झौता गर्न सरकारी टोली बेइजिङ जाने तयारी भइरहेको छ । चीनले चाहे जति इन्धन उपलब्ध गराउने बताएपछि त्यसका लागि सम्झौता गर्न सरकारी टोली चीन जान लागेको हो । आज बिहान आपूर्ति मन्त्रालयले छलफल गरेपछि टोली चीन पठाउन लागेको छ ।
वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुन हिजो चीनबाट फर्किएपछि आज सरकारी टोली सम्झौता गर्न जान लागेको हो । चीन भ्रमणबाट स्वदेश फर्किएपछि उहाँले चीन, बङ्गलादेशलगायतका मित्र राष्ट्रसँग इन्धन आपूर्तिका लागि पहल भइरहेको जानकारी दिए । चीनले व्यापारको सुनिश्चितता खोजेको र आवश्यक परे पाइप लाइन विच्छ्याउने बताएको जानकारी पनि दिए । नेपाल–चीनबीच भएको सम्झौतालाई मूर्तरुप दिन दुई देशबीच व्यापारिक सम्झौताका लागि आज मन्त्रालयको टोली त्यसतर्फ प्रस्थान गर्ने बताए ।