नक्सापास गर्ने अत्यधिक

२०७२ मंसिर ९ गते, बुधबार

काठमाडौँ, ९ मङ्सिर । नाकाबन्दीका कारण भवन निर्माण सामग्री अभाव हुँदा निर्माणमा समस्या आएपनि काठमाडौँ नगरपालिकामा नक्सापास गर्न आउने नागरिकको सङ्ख्या भने कम छैन ।
महानगरपालिकाका इञ्जिनियर वीरबहादुर खड्काका अनुसार नाकाबन्दी अघि र अहिलेको समयमा नक्सापास गर्न आउने नागरिकको सङख्या दैनिक २० जनादेखि २५ जना रहेको छ ।
भूकम्पका कारण नक्सापासमा केही छुटको व्यवस्था भएको र धेरै नागरिकको बस्ने घर नभएर पनि नक्सापास गर्नेको सङ्ख्या कम नभएको खड्का बताउनुहुन्छ ।
इञ्जिनियर खड्काका अनुसार निर्माण सामग्रीको अभावले गर्दा नक्सापास गरेका सबै नागरिकले अहिलेनै आवास निर्माणको काम भने सुरु गरेका छैनन् ।
सामग्री अभावले गर्दा धेरै सामान पाईँदैनन्, पाएका केही सामानको पनि मूल्य दोब्बर भएको छ, यसरी सामानको अभाव र अत्यधिक मूल्यमा वृद्धि भएकाले निर्माणको काम सुरु गरिसकेका धेरैले काम स्थगित गरी बसेका छन् ।
गत असारदेखि बालाजुमा आवास निर्माण गर्न सुरु गर्नुभएका मञ्जु शर्माका अनुसार निर्माण सामग्रीको अभावका कारण छ महिनादेखि सुरु गरेको घर अहिलेसम्ममा पहिलो तलाको काम पनि राम्रोसँग सकिएको छैन ।
निर्माण सामग्रीको अभाव लामो समय रहिरहने हो भने आफूजस्तै निर्माणको काम सुरु गरेकालाई ठूलो समस्या सिर्जना हुन्छ । त्यसैले यसको समाधानको लागि सरकारले शीघ्र पाइला चाल्नु आवश्यक छ, मञ्जुले भन्नुभयो ।
महानगरपालिकाका अनुसार भूकम्पका कारण मानिसमा बढेको त्रासले गर्दा नक्सापास गर्न आउने करिब ९० प्रतिशत नागरिक भूकम्पप्रतिरोधी घर निर्माणका लागिनै नक्सापास गर्न आउने गरेका छन् ।
विपद्को समयमा भौतिक र मानवीय क्षति पुगेकाले अब विपद्का समयमा क्षति कम होस् भन्ने उद्देश्यले पछिल्लो समय सोही अनुरुपको नक्सापास गर्नेको सङ्ख्या बढेको महानगरपालिकाका इञ्जिनियर बताउँछन् ।
भूकम्प जानुअघि नक्सापासलाई औपचारिक रूपमा मात्र लिँदै आएका थिए । अहिले भने क्षेत्रफलकै आधारमा नक्सापास गर्ने र नक्सा अनुरूप नै निर्माण कार्य हँुदै आएको महानगरपालिकाले जनाएको छ ।
गोरखा भूकम्पबाट पूर्णरूपमा भत्केका र सोही स्थानमा फेरि आवास निर्माण गर्न काठमाडौँ महानगरपालिकाले नक्सापासमा विशेष छुटको व्यवस्था गरे पनि सोहीअनुरुप नक्सापास गर्न आउनेको सङ्ख्या कमै छ ।
भूकम्पका कारण आवास पूर्णरूपमा भत्केको र फेरि सोही स्थानमा नै आवास निर्माण गर्न आउने नगरवासीलाई नक्सापासका लागि ७५ प्रतिशत छुटको व्यवस्था गरेको भए पनि सोही स्थानमा निर्माणका लागि नक्सापास गर्नेको सङ्ख्या भने अत्यन्तै कम रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु