मोदी कै कारण भारत असुरक्षित

२०७२ मंसिर १७ गते, बिहीबार

काठमाडौ, १७ मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कै कारण भारत असुरक्षित हुने देखिएको छ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले मोदीकै कारण भारतविरुद्ध युद्धको घोषणा गरेको छ । आफ्नो नयाँ घोषणापत्रमा आइएसले इराक र सिरियाबाहिर प्रभाव जमाउने योजना अन्तर्गत भारतलाई निशाना बनाइने उल्लेख गरेको हो ।
भारतमा धार्मिक द्वन्द्वलाई मोदीले बढावा दिएको उल्लेख गर्दै आइएसले भारतविरुद्ध युद्धको उदघोष गरेको हो । भारतमा मोदी सरकारले इस्लामविरोध भावना फैलाएको तथा मुस्लिम समुयाद असुरक्षित हुँदै गएको भन्दै आइएसले मोदी सरकारकै कारण भारतमा युद्ध थालनी गर्नुपर्ने अवस्था आएको उल्लेख गरेको छ । अंग्रेजी भाषामा प्रकाशित भारतीय अखबार ‘इन्डियन एक्सप्रेस’ का अनुसार आइएसले घोषणापत्रमा भनेको छ, ‘नरेन्द्र मोदी एक दक्षिणपन्थी हिन्दु राष्ट्रवादी हुन् जो हतियारको पुजा गर्दछन् । उनी भविष्यमा मुस्लिमविरुद्ध युद्धका लागि समर्थकहरुलाई तयार पारिरहेका छन् र उनीसँग मुस्लिमविरुद्ध युद्धका लागि सशस्त्र सेना पनि छ ।’
यसैगरी,नेपाललाई चिढ्याएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिन प्रतिदिन आफ्नै मुलुकमा आलोचित हुँदैछन् । नेपालको मामलामा पछिल्लो पटक मोदीको आलोचना गर्ने नेताको सूचीमा उत्तर प्रदेश राज्यका मन्त्री आजम खाँ रहेका छन् । उनले नेपालजस्तो मित्र राष्ट्रलाई पनि विश्वासको दायरामा राख्न नसकेकोमा मोदीको कडा आलोचना गरेका छन् । उनले भारतको विदेश नीतिको आलोचना गर्दै भने, ‘भारतको विदेश नीति यस्तो भइसकेको छ कि पाकिस्तानमात्र नभई नेपाल, श्रीलंका, चीन पनि दुश्मन बन्दै गइरहेका छन् ।’ बुधबार गोरखपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा करिब ५० मिनेट खर्चिएका उनले अधिंकाश समय मोदीको आलोचना गरे ।
यसअघि बिहारका पूर्व मूख्यमन्त्री तथा राष्ट्रिय जनता दलका नेता लालुप्रसाद यादवले पनि मोदीको आलोचना गरेका थिए । नेपालजस्तो निकट मित्रराष्ट्रलाई चिढ्याएकोमा लालुले मोदीको आलोचना गरेका थिए । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]