संरक्षणको पर्खाइमा सूर्यकुण्ड

२०७२ मंसिर १९ गते, शनिबार

काठमाडौँ । श्रीस्वस्थानी व्रतकथासँग धार्मिक महत्व जोडिएको ऐतिहासिक सूर्यकुण्डको अझै पनि संरक्षण हुन सकेको छैन । अतिक्रमणको चपेटामा रहेको तानसेन नगरपालिका– ११ प्रभाषमा अवस्थित सूर्यकुण्ड वरिपरि निजी क्षेत्रका भवन निर्माण हुँदा यसको क्षेत्रफल साँघुरिदै गई धार्मिक महत्व अस्ताउँदै गएको छ । कमलपोखरीको आडमा रहेको सूर्यकुण्ड २४ रोपनी क्षेत्रफलमा फैलिएको छ । हिन्दू धर्मग्रन्थअनुसार श्रीस्वस्थानीको मुख्य पात्र सतीदेवीको एक अङ्ग पतन भएको प्रभाषमा त्यस स्थानमा वंश गोपालको नामबाट महादेव उत्पत्ति भएको र त्यसै समयमा कुण्ड पनि उत्पत्ति रहेको धार्मिक जनविश्वास रहिआएको छ । यस कुण्डमा हरेक वर्ष साउन महिनाको सोमबार स्नान गरी वंशगोपाल मन्दिरमा जल चढाउनेको भीड लाग्ने गर्छ । सूर्यकुण्ड क्षेत्र वरपर निजी क्षेत्रका भवन निर्माण हुँदा कुण्डको धार्मिक महत्व हराउँदै जान थाले पनि यस विषयमा सरोकारवाला निकाय मौन बनेको छ । विसं ०६३–६४ देखि अतिक्रमण गर्ने क्रम बढेको स्थानीय बासिन्दा बताउँछन् । कुण्डको आसपासमा लुम्बिनी मेडिकल कलेज सञ्चालक समितिका जिम्मेवार व्यक्तिले व्यक्तिगत प्रयोजनका लागि भवन निर्माण गरेका कारण यसको क्षेत्रफल साँघुरिदै गएको छ । यस विषयमा बेलाबेलामा स्थानीयवासीदेखि राष्ट्रिय सञ्चार माध्यममा आवाज उठे पनि जिविस, नगरपालिका, स्थानीय बासिन्दाको बेवास्ताका कारण कुण्डको क्षेत्रफल दिनप्रतिदिन साँघुरिदै गएको छ । जिविसका पूर्व सभापति प्रेमनाथ बस्याल भन्न्छन– ‘सरोकारवाला निकायको ध्यान जान नसक्दा ऐतिहासिक धार्मिक महत्व बोकेको सूर्यकुण्ड अतिक्रमणमा परेको छ, यसको संरक्षणमा स्थानीय निकाय नै तात्नुपर्ने हुन्छ ।’ परापूर्वकालदेखि नै धार्मिक महत्व बोकेको सूर्यकुण्ड क्षेत्र अतिक्रमणमा परी संरक्षणमा कसैको ध्यान जान नसक्दा यसको अस्तित्व नै गुम्दै गएको छ ।पछिल्लो समय बाक्लो बस्ती बढ्दै गएका बखत जथाभावी रूपमा नियम विपरीत भवन निर्माण कार्य गर्दा ऐतिहासिक र धार्मिक महत्व बोकेका क्षेत्रहरू खुम्चिन पुगेका छन् । जसले गर्दा तिनको अस्तित्व नै गुम्ने अवस्थामा सूर्यकुण्डजस्ता थुप्रै धार्मिक तथा ऐतिहासिक सम्पदा छन् । यिनीहरूको संरक्षणमा सम्बन्धित निकायले बेलैमा चासो नदिने हो भने इतिहासका पानामा मात्र नाम सीमित रहन पुग्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु