सान बर्नार्डिनोको आक्रमण आतंककारी गतिविधि : ओबामा
काठमाडौं, २१ मंसिर । अमेरिकाका राष्ट्रपति बाराक ओबामाले राष्ट्रका नाममा सम्बोधन गर्दै क्यालिफोर्नियाको सान बर्नार्डिनोमा भएको आक्रमण आतंककारी आक्रमण भएको बताएका छन । राष्ट्रपति ओबामाले सान बर्नार्डिनोको आक्रमण आतंककारी गतिविधि भएको बताएका हुन् ।
अमेरिकी समाजमा रहेको विभेदको फाइदा आतंककारीले लिने गरेको ओबामाको भनाई छ । राष्ट्रपति ओबामाले स्वतन्त्रता भय भन्दा शक्तिशाली हुने बताउनुभयो । गएको बिहीबार राति सान बर्नार्डिनोमा दुई जनाले अन्धाधुन्ध गोली प्रहार गर्दा १४ जनाको ज्यान गएको थियो । गोली प्रहार गर्ने २८ वर्षका रिजवान फारुक र उनीक २९ वर्षकी श्रीमती तशफिन मलिकको प्रहरीको कारवाहीमा ज्यान गएको थियो । सम्बोधनको क्रममा राष्ट्रपति ओबामाले बिद्रोही संगठन इस्लामिक स्टेट आइएसलाई ठग तथा हत्याराको शंज्ञा दिनुभयो । उहाँले आतंकवाद अहिलेको प्रमुख समस्या रहेको तर यसलाई नियन्त्रण गर्न भने सकिने बताए । आइएसले सान बर्नार्डिनोमा भएको आक्रमणमा संलग्न दम्पती आफ्ना समर्थक भएको जनाएको छ ।तर आक्रमणको योजनामा आफ्नो संलग्नता रहे नरहेको बारे भने आइएसले स्पष्ट पारेको छैन । अमेरिकाको संघीय जाँच आयोगले घटनाको विषयमा अनुसन्धान गरिरहेको छ । – एजेन्सी