​संविधानको एक महिने प्रचार अभियान सुरु

२०७२ मंसिर २१ गते, सोमबार

काठमाडौं, २१ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानबारे जानकारी गराउन एक महिने अभियान उद्घाटन गरेका छन । काठमाडौंको राष्ट्रिय सभागृहमा एक सामारोहका बीच ‘जनताको संविधान जनताकै माझमाझ भन्दै प्रधानमन्त्री ओलीले संविधानको अन्तर्वस्तु समेटेर तयार पारेको वृत्तचित्र पनि सार्वजनिक गरे। अभियान सुरुवातको कार्यक्रममा उपप्रधानतथा स्थानीय विकास मन्त्री कमल थापाले नयाँ संविधान नेपाली जनताको सम्पत्ति भएकाले यसको संरक्षण र संवर्द्धन गर्ने जिम्मेवारी जनताकै भएको बताए। अभियान सुभारम्भ कार्यक्रममा वेद विद्याश्रम वनवाटिकाका बटुकहरुले स्वस्ती पनि वाचन गरेका थिए।
सरकारले संविधानका विषयमा जनतालाई सुसूचित गर्न तथा संविधानबारे उठाइएका अनेकौँ टीकाटिप्पणीलाई चिर्न सोमबारदेखि मुलुकभर राष्ट्रिय अभियान सञ्चालन गर्न लागेको हो।
अभियान ७५ वटै जिल्ला सदरमुकाम, २१७ नगरपालिका र तीन हजार १५७ गाविसका केन्द्रमा आगामी पुस २१ गतेसम्म सञ्चालन हुनेछ।मन्त्रिपरिषद्को मङ्सिर ८ गतेको निर्णय बमोजिम सरकारले सो अभियान मङ्सिर २१ देखि एक महिनासम्म सञ्चालन गर्न लागेको हो। जिल्ला सदरमुकाममा हुने सभा तथा मूल कार्यक्रममा विभिन्न राजनीतिक दलका व्यक्तिलगायत सर्वसाधारण जनताको सहभागिता हुने र त्यहाँ संविधानका विशेषताबारे प्रकाश पारिने जनाइएको छ। त्यस्तै प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, पूर्वप्रधानमन्त्रीगायत विशिष्ट महानुभावले भाग लिनुहुनेछ। संविधानका विशेषताका बारेमा पुस्तिका, पर्चा, फ्लेक्स प्रिन्टलगायत प्रचारका सामग्री वितरणको चाँजोपाँजो स्थानीय विकास मन्त्रालयले गर्नेछ।

प्रतिक्रियाहरु

[anycomment]