मधेसी मोर्चाका नेतालाई हरुवाको सज्ञा

२०७२ मंसिर २२ गते, मंगलवार

काठमाडौ, २२ मंसिर । भारतको माथिल्लो सदन राज्यसभामा नेपालको वर्तमान अवस्थाबारे गम्भीर बहस भएको छ । हिजो अपरान्ह भएको छलफलमा भाग लिँदै विभिन्न दलका सांसदहरुले भारतको नेपालसँगको सम्बन्ध इतिहासमै कमजोर अवस्थामा पुगेको भन्दै यो भन्दा तल जान नदिन सरकारलाई सुझाव दिएका छन् । उनीहरुले भारतबाट इन्धन लगायतका सामाग्रीको आपूर्ति नहुँदा नेपालमा मानवीय संकट गहिरिएको भन्दै तत्काल अवरोध खुला गरेर नेपालको राजनीतिक समस्या समाधानमा ध्यान दिन समेत सुझाएका छन् । छलफलमा भाग लिदै कांग्रेस आईका सांसद करण सिंहले नेपालको संविधान बनिसकेपछि विशेष दूत पठाएर भारतले गल्ती गरेको बताए ।
अहिलेको संविधानमा मधेसीहरुलाई कमजोर बनाउन खोजिएको जिकीर गर्दै उनले मधेसको समस्या नेपालको आन्तरिक भए पनि भारतले सहयोग गर्नुपर्ने बताए ।
यस्तै कांग्रेस आइका अर्का नेता मणिशंकर ऐयरले नेपालमा भारतले नभई नरेन्द्र मोदी सरकारले नाकाबन्दी गरेको आरोप लगाए । उनले मधेसका अधिकांश सभासदले संविधान अनुमोदन गरेको अवस्थामा एक–दुईजना हरुवा नेताले विरोध गरे भन्दैमा भारत सरकारले उनीहरुको कुरा सुन्नु गलत भएको बताए । उनले चुनाव हारेका मधेसी नेताहरु भारतमा आएको भन्दै एउटा मात्रै समुदायको पछि नलाग्न भारत सरकारलाई चेतावनी दिए ।
यसैगरी भारतीय राष्ट्रवादी कांग्रेसका नेता डीपी त्रिपाठीले सातवटा नाकामध्ये एउटामात्रै अवरोध भएको तर अन्य नाकाहरुबाट पनि आपूर्ति नहुँदा नेपालमा मानवीय संकट उत्पन्न भएको सन्देश विश्वमा गएको बताए । त्रिपाठीले सबैभन्दा पहिले भारतले नेपाली सार्वभौमिकताको सम्मान गर्नुपर्ने सुझाव दिँदै वर्तमान समस्या समाधानमा भारतले सहजकर्ता भन्दा अरु भूमिका खेल्न नसक्ने बताए ।
यस्तै जनता दल युनाइटेडका नेता शरद यादवले नेपाल भारत सम्बन्ध विशेष खालको भएको भन्दै भारत ठूल्दाई नबनी समस्याको समाधान खोज्नुपर्ने बताए ।
भारतीय कम्युनिष्ट पार्टीका नेता डी राजाले नेपालीहरुमा भारतले नेपालमा हस्तक्षेप गरेको धारणा बनेको भन्दै त्यसलाई तत्काल चिर्नुपर्नेमा जोड दिए ।
यस्तै राजस्थानका भाजपा सांसदले सीमाको अवरोध हटाउन कुनै न कुनै उपाय तत्काल खोज्नु पर्नेमा जोड दिए भने बीसीजीका सांसद भुपेन्द्र सिंहले भारतले नेपाललाई आफ्नो एउटा भाग ठान्दा समस्या आएको भन्दै नेपालसँगको सम्बन्ध यो भन्दा तल जान दिन नहुने बताए ।
बहुजन समाजवादीका सांसदले काठमाडौंका एलिटहरुलाई दबाव दिनु जरुरी भए पनि बहुमत मूलवासीहरुलाई पनि विश्वासमा लिन भारतले कदम चाल्नुपर्ने बताए ।
कतिपय सांसदहरुले यही अशान्तिको बीचमा आइएस जस्ता अतिवादीहरुले सीमामा खेल्न सक्नेतर्पm पनि सचेत रहन आग्रह गरेका थिए । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]