चिनसग इन्धन खरिद सम्झौता गरिने
काठमाडौ, २३ मंसिर। चीनले नै इन्धन खरिद सम्झौताका लागि राजनीतिक स्तरमा छलफल गरेर टुंगो लगाउन पटकपटक आग्रह गरेपछि सरकारले एक उपप्रधानमन्त्री चीन पठाउने तयारी गरेको छ ।
सरकारले चीनको उच्चस्तरको राजनीतिक नेतृत्व तहमा छलफल गरेमा चीनबाट इन्धन ल्याउने विषय टुंगोमा पुग्ने समाचारहरु सार्वजनिक भएपछि सरकारलाई तातो लागेको एक अधिकारीले बताए ।
चीन सरकारले नेपाललाई कर छुट दिएर ढुवानीमा समेत सहयोग गर्ने विषय टुंगोमा पूग्न कर्मचारी स्तरको छलफललाई चीनले खासै महत्व नदिएपछि राजनीतिक स्तरमा नै पठाउने तयारी भएको हो ।
राजनीतिक तहमा छलफलका लागि चीनले लगातार सन्देश पठाए पनि सरकारले बेवास्ता गर्दा इन्धन खरिदसम्बन्धी व्यापारिक सम्झौतामा ढिलाइ भएको थियो । मंगलबार परराष्ट्र र आपूर्ति मन्त्रालयमा दिनभर यो विषयमा छलफल भएको थियो ।