राजनीतिक व्यक्ति र प्रशासकमाथिको अनुसन्धान रोकिदैन : कार्की
काठमाडौं, २३ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले आयोगले राजनीतिक व्यक्ति र उच्च प्रशासकहरुमाथि सुरु गरेको अनुसन्धान नरोक्ने बताएका छन् । भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय दिवसको अवसर पारेर आयोगले बुधबार गरेको कार्यक्रममा प्रमुख आयुक्त कार्कीले आयोग कसैको दवाबमा परेर राजनीतिक दलका नेता र उच्च प्रशासकहरुमाथि सुरु गरेको अनुसन्धान नरोक्ने स्पष्ट पारेका हुन् ।
एकीकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महरा, एमालेका राजेन्द्र पाण्डे र सुरेन्द्र पाण्डेलगायतका नेता तथा केही बहालवाला सचिवसहित २९ जना भीआइपीलाई बयानका लागि पत्र काटेपछि एमाले र माओवादी नेताहरुले चर्को आलोचना गरिरहेका बेला कार्कीको यस्तो बताएका हुन् ।
ठूला माछालाई पक्राउ गर्न नसकेको भन्दै चर्को आलोचना गर्नेहरु नै अहिले आयोगको कदमप्रति टिका टिप्पणी गर्दै हिडेकोप्रति असन्तुष्टि जनाउदै प्रमुख आयुक्त कार्कीले कसैको दबाबमा पछि नहट्ने बताए ।
कार्कीले आयोगले नेता तथा प्रशासकहरुले बुझाएको सम्पति विवरणलाई आधार मानेर विधिसम्मत रुपमा पत्र काटेको भन्दै आफूले जस्तोसुकै चुनौतीको सामना गर्ने तर अनुसन्धान नरोक्ने बताउदै पत्रकाटेका ब्यक्तिलाई अनुसन्धान सुरु गर्ने जनाए ।
छानविन अघि बढाउनका आफू जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताएका कार्कीले पद गुम्ने डरले आफूले छानविन नरोक्ने स्पष्ट पारे । आफ्नो अधिकार क्षेत्र भित्र पर्ने भ्रष्टाचारमा संलग्नलाई कारवाहीको दायरामा ल्याउने बताउदै कार्कीले माओवादी लडाकुका शिविरमा भएको भ्रष्टाचारलाई आयोगले अनुसन्धानको दायरामा ल्याउने बताए ।