पूर्ण साक्षर योजना अपूर्ण

२०७२ पुष ६ गते, सोमबार

काठमाडौं, ६ पुस । सरकारको सन् २०१५ भित्र नेपाललाई पूर्ण साक्षर घोषणा गर्ने योजना पूरा नहुने भएको छ । सन् २०१५ सकिन हप्ता दिनपनि बाँकी नभएकाले सहस्राब्दी विकास लक्ष्य योजना अनुसार नेपाललाई सन् २०१५ मित्र पूर्ण साक्षर घोषणा गर्ने सरकारको योजना पूरा नहुने भएको हो ।अहिलेसम्म २० जिल्लालाई मात्र पूर्ण साक्षर घोषणा गरिएको छ । अनौपचारिक शिक्षा केन्द«का उपनिर्देशक विष्णुप्रसाद मिश्रका अनुसार अहिलेसम्म ललितपुर, सिन्धुपाल्चोक, धादिङ, पाँचथर, तनहुँ, लम्जुङ, कास्की, स्याङजा, नवलपरासी, रुपन्देही, चितवन, अर्घाखाँची, प्युठान, गुल्मी, दाङ, सुर्खेत, नुवाकोट, पाल्पा, मुस्ताङ र भक्तपुर गरि २० जिल्ला मात्र पूर्ण साक्षर घोषणा भएका छन् । भूकम्पका कारण पनि तोकिएको समयमा लक्ष्य हासिल गर्न नसकिएको उनले बताए । अहिले केही जिल्ला पूर्ण साक्षर घोषणा भइसकेको र केही घोषणा हुने क्रममा रहेकाले आउँदो वर्ष नेपाललाई पूर्ण साक्षर घोषणा गरिने उनको भनाई छ ।
सरकारले १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा धेरै नागरिक साक्षर भएमा पूर्ण साक्षर जिल्ला घोषणा गर्दे आएको छ । अहिले सरकारले विभिन्न जिल्लामा साक्षरता अभियान चलाइरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]