मोटरसाइकलमा तीन जना चढन प्रतिबन्ध
काठमाडौं, १४ पुस । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक पोषराज पोखरेलका अनुसार ट्राफिक प्रहरीले मोटरसाइकलमा तीन जना राखेर चलाउनेलाई कारवाही गर्न थालेको छ । इन्धन अभावका कारण कम गाडी चल्दा मोटरसाइकलमा पनि तीन जना चढ्न छुट दिएको ट्राफिक प्रहरीले अबदेखि तीन जना चढ्न नदिने भएको हो । आइतबारदेखि मोटरसाइकलमा तीन जना चढ्नेलाई कारवाही सुरु गरिएको हो । जसअनुसार पहिलो दिन आइतबार १ सय ४८ जना र सोमबार १ सय २३ जनालाई कारवाही स्वरुप २ सय रुपैयाँ तिराइएको उनले बताए । यस्तै सडकमा गाडीको संख्या बढ्दै गएपछि सानो माइक्रोको छतमा पनि यात्रु नराख्न उनले आग्रह गरे ।
अहिले तत्कालको लागि ठूला यात्रुबाहक बसको छतमा यात्रु राख्न दिएपनि साना गाडीमा नदिने महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक पोखरेलले बताए । उनका अनुसार साना गाडीका छतमा बसेर यात्रा गर्न निषेध गरिएको छ । ठूला गाडीका पनि छतमा बसेर यात्रा गर्नेलाई सम्झाउन थालिएको छ । अहिले सडकमा ७५ प्रतिशत निजी र ६० प्रतिशत सार्वजनिक सवारी सञ्चालनमा रहेको ट्राफिक प्रहरीको तथ्याङ्क छ । सार्वजनिक सवारीको सङ्ख्या ७० प्रतिशतभन्दा बढ्दै गएपछि ठूला बसको छतमा पनि यात्रु निषेध गर्ने तयारी भइरहेको प्रवक्ता पोखरेलले बताए ।