शिया धर्म गुरुलाई मृत्युदण्ड दिएको सर्बत्र विरोध
काठमाडौं, १९ पुस । साउदी अरेबियामा शिया धर्म गुरु शेख निमर अल निमरलाई मृत्युदण्ड दिएपछि इरानलगायत विश्वका थुप्रैं राष्ट्रमा बिरोध भएको छ । इरानको राजधानी तेहरानमा प्रदर्शनमा उत्रेका शिया समुदायका ब्यक्तिहरुले सउदी अरबको दूतावासमा प्रवेश गरी आगजनी गरेका छन् । प्रदर्शनकारीहरुले धर्म गुरुको हत्याले निम्त्याउने परिणाम स्वीकार्न सउदी सरकारलाई चेतावनी दिएका छन् ।
इरान सरकारले पनि निमरको मृत्युदण्डमा साउदीले ठूलो मूल्य चुनाउनु पर्ने भन्दै रियादले आतंकवादलाई समर्थन गरेको आरोप लगाएको छ । यसैबीच शिया धर्मगुरु आयोतुल्ला अहमद खातमीले मृत्युदण्डको घटनालाई गम्भीर अपराध भन्दै निन्दा गरेका छन् ।
साउदी आन्तरिक मामला मन्त्रालयले आतंकवादी अपराधमा संलग्न रहेको भन्दै शेख निमरसहित ४७ जनालाई मृत्युदण्ड दिएको थियो ।
सन् २०११ मा पूर्वी प्रान्तमा चर्किएको सरकार विरोधी प्रदर्शन समर्थन गरेको आरोपमा धर्म गुरु निमरलाई मृत्युदण्ड दिइएको हो । विभिन्न १२ स्थानमा दिइएको मृत्युदण्ड पाउनेमा दुई विदेशी नागरिक पनि छन् ।
शिया समुदायले आफुहरुलाई अधिकारविहीन बनाइएको भन्दै असन्तुष्टि जनाएका थिए । मृत्युदण्डको विरोधमा साउदीकै शिया बहुल क्षेत्र, इराकलगायत त्यस क्षेत्रमै प्रदर्शन चर्किएको छ । – एजेन्सी