पाटेबाघको अनुगमन सुरु
काठमाडौं , २० पुस । विश्वमै लोपोन्मुख पाटेबाघको आहारा,प्रजाति, वासस्थान र अवस्था पत्ता लगाउन चितवन निकुञ्ज र आसपास क्षेत्रमा अनुगमन सुरु भएको छ । विभिन्न क्षेत्रमा फरक फरक संस्थाले प्राविधिकहरू परिचालन गरेर अनुगमन थालेको चितवन निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले जानकारी दिए । उनका अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोषले निकुञ्जको मध्यवर्ती क्षेत्र र करिडोरमा अनुगमन थालेको छ ।
यस्तै निकुञ्जको पश्चिम क्षेत्रमा टाइगर ट्रष्ट नेपालले र निकुञ्जको मध्य क्षेत्रमा चितवन निकुञ्जले अनुगमन गर्ने पौडेलले जानकारी दिए । अहिले राष्ट्रिय प्रकृति संरक्षण कोषले भने बरन्डाभार क्षेत्रमा अनुगमन थालिसकेको निकुञ्जले जनाएको छ । अनुगमनले बाघको संरक्षणमा देखिएका समस्या पहिचान गर्ने र त्यसको आधारमा संरक्षणका रणनीति बनाइने बताइएको छ ।
सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर पार्ने सरकारी योजना सफल पार्न पनि वासस्थान र आहारा प्रजाति संरक्षणमा गम्भीर भएर लागेको निकुञ्जले जनाएको छ । पछिल्लो समयमा बाघ तथा संरक्षित वन्यजन्तु सरकारी वन क्षेत्र र करिडोर क्षेत्रका मध्यवर्ती वनमा समेत पाइएका छन् । त्यसैले पनि मध्यवर्ती क्षेत्रमा समेत संरक्षणका कार्यक्रम सुरु गरिएको बाटुलीपोखरी मध्येवतर्ती सामुदायिक वनका अध्यक्ष प्रकाश दवाडीले बताए ।