माओवादीद्वारा जिएमआर कम्पनीमा पेट्रोल वम प्रहार

काठमाडौं, २१ पुस । नेपाल कम्युनिस्ट पार्टी माओवादीले नेपालमा रहेका भारतीय कम्पनीहरुमाथि कारवाहीको थालनी गरेको छ । यसैक्रममा माओवादीले भारत सरकारको समेत स्वामित्व रहेको भारतीय जिएमआर कम्पनीमाथि हिजो साझ पेट्रोल वम प्रहार गरेका छन । मंगलबार साँझ साढे पाँच बजे माओवादीका कार्यकर्ताहरुले ललितपुरको पुल्चोक पाटनढोकाको बीचमा रहेको जिएमआरको कार्यालयमा पेट्रोल वम प्रहार गरेका हुन् । वम प्रहारबाट जिएमआर कम्पनीमा सामान्य क्षति पुगेको बताइएको छ ।
नेकपा माओवादीले यसअघि पनि भारतीय कम्पनी र भारतीय गाडीहरुमाथि प्रहार गर्दै आएको छ । केही दिन अघि मात्र काठमाडौंस्थित भारतीय दुतावासको गाडीमा समेत माओवादीले आगजनी गरेको थियो । त्यस्तै नेपालमा निस्फिक्री हिडिरहेका केही भारतीय ट्रकहरुमा पनि माओवादीले यसअघि आगजनी गरेको थियो । आक्रमणपछि माओवादीका प्रवक्ता प्रकाण्डले भारतले नेपालमा अस्थिरता फैलाउने खेल बन्द नगरेसम्म भारत विरुद्धको आफ्नो अभियान नरोकिने बताए । यो आक्रमण भारतले नेपालमाथि लगाएको नाकाबन्दीको आक्रोश स्वरुप नेपाली जनताले गरेको आक्रमण भएको बताउँदै अझै त्यो व्यवहार नसच्याए आक्रमण बढ्दै जाने बताए ।