चेम्बर एक्स्पो सुरु

२०७२ पुष २३ गते, बिहीबार

काठमाडौँ, २३ पुस । नेपाल चेम्बर अफ कमर्शले मित्रराष्ट्र दक्षिण कोरियाको साथ लिएर ‘नेपाल चेम्बर एक्स्पो–२०७२’ को भृकुटीमण्डपमा आजदेखि आयोजना गरेको छ । नेपाल र दक्षिण कोरियाबीच दौत्य सम्बन्ध कायम भएको ४२ वर्ष पुगेको उपलक्ष्यमा चेम्बरले कोरियालाई एक्स्पोको साझेदार राष्ट्र बनाएको हो । अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्नुभएको सो एक्स्पो पाँच दिनसम्म सञ्चालनमा आउने आयोजकले बताएका छन् ।
नेपाली औद्योगिक एवम् वाणिज्य क्षेत्रको विकास तथा अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनको सहजीकरणका लागि नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्य, हेरिटेज कार्पेट, सिजी मोबाइल, ड्रागन इयर र एनएमबी बैंकको सहप्रायोजकमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
एक सय १० राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय कम्पनी तथा उद्योगी व्यवसायीबाट वस्तुको बिक्री वितरण गर्न सहभागी रहेको सो एक्स्पोमा कुल २५० कक्ष समावेश छ । एक्स्पोमा भारत, पाकिस्तान, बङ्गलादेश, चीन, दक्षिण कोरिया तथा अन्य मुलुकमा उत्पादित सामग्री रहेका छन् । यस वर्ष चेम्बरले कोरियालाई एक्स्पो साझेदार राष्ट्रका रुपमा लिएको छ । साझेदार राष्ट्र पेभिलियनभित्र करिब ४० कक्षबाट वस्तुको बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ ।
एक्स्पोमा विशेष गरी अटोमोबाइल, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, फ्लोरिङ एण्ड फर्निसिङ तथा घरायसी सजावटका सामग्री समावेश गरिएको छ । एक्स्पो कार्यक्रममा अर्थमन्त्री पौडेलले नाकाबन्दीको समस्या चाँडै समाधान हुने बताउनुभएको थियो भने नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले नाकाबन्दीको समस्या छिटो समाधान गर्न सरकारसँग अनुरोध गर्नुभयो ।
“सन् १९७४ मा दुई देशबीच कायम भएको दौत्य सम्बन्ध प्रगाढ बन्दै गएको छ” नेपालका लागि दक्षिण कोरियाका राजदूत चो योङ्ग जिनले भन्नुभयो । दुई देशबीच दौत्य सम्बन्ध कायम भएदेखि नेपाल र कोरियाबीच व्यापारिक कारोबारसमेत हुँदै आएको छ । दक्षिण कोरियाबाट नेपालले झन्डै पाँच करोड अमेरिकी डलर बराबरको वस्तु आयात गर्ने गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु