सिंहदरवार देशकै सवैभन्दा ठूलो मूर्दाघर : वैद्य

काठमाडौँ, २५ पुस । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन बैद्यले प्रधानमन्त्री केपी शर्मा ओली जनजीविकाका समस्या हल गर्ने भन्दा पनि भाषण गरी जग हसाइरहको बताएका छन् । शनिबार संवाद डबलीमा नेपालको समसामयिक सन्दर्भमा आधारित भएर इच्छुक सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको विशेष कवि गोष्ठीमा बोल्दै वैद्यले भारतको नाकाबन्दले जनजीवन चौपट भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली ठट्टामा व्यस्त रहेको बताए । ‘कहिले हावामा बिजुली निकाल्ने र कहिले घरघरमा ग्यासको पाइप लाइन पु-याउनेजस्ता कुरा गरिरहेका छन् । जनजीविका चौपट भइरहेको बेला पनि प्रधानमन्त्री ठट्टामा व्यस्त हुनु चिन्ताजनक हो’ वैद्यले भने । जनताको घरमा चुलो बल्न छोडेको बेला प्रधानमन्त्री ख्याल ठट्टामा ब्यस्त भएकाले नेपालकै बेइजत भएको बताए ।
कार्यक्रममा कविहरुले देश संचालन गर्ने सिंहदरवारलाई यो देशकै सवैभन्दा ठूलो मूर्दाघर भन्नु सामयिक विम्ब भएको बताए । मधेश आन्दोलन, नाकाबन्दी, राष्ट्रियता, पहिचानको मुद्दादेखि वर्गसंघर्षलाई कविताको विषयवस्तु बनाएर पौढदेखि नवयुवासम्मका तीन पुस्ताका कविहरुले कविता सुनाएका थिए ।
कार्यक्रममा कवि स्नेह सायमी, जगदीशचन्द्र भण्डारी, मित्रलाल पंज्ञानी, रामप्रसाद ज्ञवाली, लक्ष्मी माली, हिरामणी दुःखी, अनिल श्रेष्ठ, राजबहादुर कुँवर, स्वप्निल स्मृति, संगीत स्रोता, मुक्तान थेवा, राजु स्याङ्ताङ, कुशल बोगटी, आरसी न्यौपाने, केशव सिलवाल, गौरी दाहाललगायतका कविहरुले कविता बाचन गरेका थिए ।
२०२७ सालमा भएको भारतीय नाकाबन्दीको सन्दर्भमा लेखिएको धम्की न दे भारत भन्ने कविता विशेष प्रस्तुतीमा रहेको थियो । विशेष कवि गोष्ठीको संचालन इच्छुक सांस्कृतिक प्रतिष्ठानका सदस्य सचिव हिरामणी दुःखीले गरेका थिए भने अध्यक्षता प्रतिष्ठानका अध्यक्ष कवि इश्वरचन्द्र ज्ञवालीले बताए ।