क्रान्तिकारी माओवादीको केन्द्रीय पार्टी स्कुल विभाग गठन
काठमाडौं, २५ पुस । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले केन्द्रीय सचिवालय सदस्य परि थापा संयोजक र केन्द्रीय सदस्य हस्तबहादुर के.सी. सचिव रहेको केन्द्रीय पार्टी स्कुल विभाग गठन गरेको छ । अन्य सदस्यहरुमा केन्द्रीय सदस्यहरु डा. जगदीशचन्द्र भण्डारी, हुकुम बहादुर सिंह र लेखनाथ न्यौपाने तथा केन्द्रीय सल्लाहकार दीर्घ पाण्डे रहनु भएको छ ।
नेकपा–माओवादी र नेकपा (एकीकृत)का बीचमा पार्टी एकता भएपछि यस विभागको पुर्नगठन गरिएको हो । तत्कालिन नेकपा माओवादीमा केन्द्रीय पार्टी स्कुलमा कृष्णदास श्रेष्ठ संयोजक र हस्तबहादुर के.सी नै सचिव हुनुहुन्थ्यो । पार्टी एकता भएपछि कृष्णदास श्रेष्ठलाई विभागको संरक्षक र तत्कालिन नेकपा (एकीकृत) का महासचिव समेत रहेका परि थापालाई हाल नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय पार्टी स्कुल विभागको संयोजकको जिम्मेवारी दिइएको छ ।
विभागको गठन पश्चात सचिव के.सीको भनाई अनुसार निम्न कार्यक्रमहरु सञ्चालन गर्ने जानकारी गराइएको छः– पहिलो चरणमा विभिन्न राज्यस्तरमा प्रशिक्षण क्रार्यक्रम संचालन गरिने छ । प्रशिक्षणको अवधि ७ दिनको तय गरिएको छ । प्रशिक्षणका विषयहरु मुख्य गरेर दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद रहेका छन् ।दोस्रो चरणमा जिल्ला तहको प्रशिक्षण कार्यक्रम संञ्चालन गरिने छ ।
प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुभन्दा पहिले केन्द्रीय प्रशिक्षकहरुको एउटा टिम तयार पारेर त्यस टिमलाई पहिले प्रशिक्षित गर्ने निर्णय गरिएको छ । प्रशिक्षणको व्यवस्थापन सम्बन्धित कमिटीहरुले गर्ने व्यवस्था मिलाइएको छ ।
आधारभूत तह, विस्तृत तह र विशिष्ट तह गरि ३ तहको स्कुलिङ्गको व्यवस्था गरिएको छ । आधारभूत तथा जिल्लातह, विस्तृत तहमा जिल्लाको तह र विशिष्ट तहमा केन्द्रीय स्तरको प्रशिक्षण हुने छ ।
अन्तिममा अनुसन्धानात्मक तहको पनि व्यवस्था गरिएको छ । यो तहमा कुनै विषयको गहन अध्ययन, अनुसन्धान गर्न र सम्बन्धित विषयमा समालोचनात्मक र शोधमूलक क्षमता अभिवृद्धि गराउन सहयोग पु¥याउने उद्देश्यले यस प्रकारको व्यवस्था गरिएको छ । केन्द्रीय पार्टी स्कुल विभागले सञ्चालन गर्नेगरि केन्द्रीय पार्टी कार्यालयको व्यवस्थापनमा वृहत पुस्तकालयको स्थापना गरिने निर्णय पहिले नै भइसकेको छ ।