प्रधानमन्त्री जू सल्लाह ट्क्र्याउने जागीर पाउ – सन्तोष चिमरिया

२०७२ पुष २८ गते, मंगलवार

” सम्माननिय प्रधानमन्त्री !
प्रधानमन्त्रीको कार्यलय सिंहदरबार ।
बिषय – सल्लाह ट्क्र्याउने जागीर पाउ भन्ने बारे ।
महोदय ,
श्रीमान म पाँच कक्षा उत्रिण बेरोजगार हुं । खाडी गए गर्मी भो । मलेसिया गए अल्छी लागो । हलो जोत्ने भए किन पो खाडी र मलेसिया जान्थे र ! त्यसैले अहिले देशमै केही गर्ने उदेश्यले गाउँघर तिरै चिया दोकान र चौतारीमा, खेत बाझै राखेर भएपनि सुकरातका जस्ता अमुल्य दर्शन सित्तैमा बाडेर बस्न बाध्य छु । इनोभेटिभ टाईपका आईडियाले खोपडी टनाटन छ तर पोख्ने ठाउँ छैन । बिजुलि चम्केको तालमा आईडियाहरु फुर्छ्न तर देश र जनताको पक्षमा त्यसलाई उपयोग गर्न सकेको छैन ।
तपाईंकै जस्ता मेरा पनि नवीनतम योजनाहरु कति छ्न कति । तर यो सतीले सरापेको देशमा राम्रो कुरा कसैलाई पच्दैन । हल्का दिन खोज्छु !! साला ओलीका जस्ता हावा गफ नगर भन्दै पर पर उडाउन खोज्छन् । कोहि पाँच रुपेको चिया खाएर सयको गफ नहाँक बरु चियाको पैसा म तिर्दिम्ला त यहाँबाट गईहाल भन्छ्न । एकाबिहानै घर गएर के काम ? सधैं कस्तो हावादारीलाई बिहा गरेर दिए बाउआमले भनेर स्वास्नी टाउको ठोक्दै हुन्छे । आफ्नै स्वास्नीले त हेपेर मुकुन्दे घिम्रे भन्छे र १०० रुपे दाममा पत्याउदिन अरुका के कुरा !!
हुनत यो देशमा प्रतिभाको कदर कहिले पो भएको छ र ? मृत्युपर्यान्त मात्रै यो देशले मान्छे चिन्छ । महाकबि देबकोटालाई यसले मरेपछि चिन्यो । नारायणगोपाललाई मरेपछि चिन्यो । हरिभक्त कटुवाल र भुपी शेरचनलाई पनि मरेपछि चिन्यो । मलाई पनि जीउँदै यो देशले चिन्छ जस्तो लागेको छैन । तर के गर्नु परिचय दिनकै निम्ति मर्न नसकिने रैच ! तर तपाईं प्रधानमन्त्री भएपछि भने म जस्ता मान्छेको कदर हुन्छ कि भन्ने आशामा आत्माहत्याको योजना स्थगित गरेको छु । त्यसैले आफ्ना प्रतिभाहरुको ट्रेलर मात्रै देखाउनका निम्न लिखित आईडियाहरु पस्केको छु । बाकी पूरा फिलिम नियुक्ति पाएपछि भन्ने छु ।
प्रधानमन्त्री महोदय अब हाम्ले बिधुतिय कार र बस हैन सिधै हवाईकार/ हवाईबस बनाउनु पर्छ । यसो गर्नाले एकातिर सडक बनाउने बजेट र समयको बचत हुन्छ । अर्कोतिर पेट्रोलियम खपत जिरो ! गुड्ने सवारी माथी रिचार्जेबल इलोक्ट्रोनिक पवरेड पंखा हाल्ने र आकाशमार्ग प्रयोग गर्ने । अनि सिधै घरका आगन र कार्यलयका पार्किङ मा ल्याण्ड गर्ने । तेसो गरे कसो होला ….?
मलाई चाहिँ तपाईंको पाईपलाईनको आईडिया कस्ट्ली र टाईम कन्जुमिङ जस्तो लाग्यो । आई मीन महगो र समय धेरै लाग्ने । मोबाइल एप बनाएर एन्रोईड र आईओएसमा उपलब्ध गराउने । जसलाई ग्यास चाहिन्छ उसले डाउनलोड गर्छ र मोबाइलबाट भात पकाउछ । तेसो गरे कसो होला ???
बिजुली नि हावाबाट निकाल्ने कुरा अलि प्राक्टिकल लागेन मलाई । एक कदम अगाडि बढेर भाषणबाट बिजुली निकाल्न पर्छ । तपाईं जस्तै नेता, तपाईंका तपाईं जस्तै कार्यकर्ता , म र मस्ता लाखौं जस्लाई समाज र स्वास्नले सम्म हावादारी, गफाडी र भाषणबाज भनेका छ्न । तिनको बृहत् कार्यगत एकता गर्ने र किल्किलेमा टर्बाईन फिट गर्ने । अनि जति भाषण गर्यो उति धाराप्रबहा बिजुली निस्कन्छ । अनि ब्लुटुथको माध्यमबाट बिधुतिय तरंग सेयर गर्ने । ब्लुटुथले रेन्ज कभरेज नगरे म्यासेज मार्फत पठाउने । तेसो गरे कसो होला ??
यस्ता आईडिया त कति छ्न कति कम्रेड । किनभने म पनि झापा कै हुं । त्यसैले मन्त्री सो सरहको तलब र सुबिधा पाउने गरि इनोभेटिभ आईडियाज कन्सल्ट्यान्टको पदमा नियुक्ति पाए आजैको नाइट गाडी चडेर काठमाडौ आउथे । बांकी सल्लाह, सुझाव र आईडिया भेटमा ।
लालसलाम !!”
(सन्तोष चिमरियाको फेसबुकवाट साभार)

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु