नाकाबन्दीले दुइ हजारभन्दा बढी उद्योग बन्द
काठमाडौ, २८ पुस । भारतले गरेको नाकाबन्दी र मधेसी मोर्चाले गरेको आन्दोलनका कारण दुइ हजारभन्दा बढी उद्योगहरु बन्द भएको व्यवसायीले दाबी गरेका छन् । नेपाल उद्योग बाणिज्य महासंघले मंगलबार काठमाडौमा गरेको कार्यक्रममा व्यबसायीहरुले अर्थमन्त्री बिष्णु पौडेल समक्ष उद्योगहरु बन्द हुँदा ४ लाख बढी कामदारहरु बेरोजगार भएको तथ्याङ्क पेश समेत गरेका छन् । तराई मधेसमा जारी आन्दोलनका कारण व्यवसायीले दैनिक २ अर्ब घाटा व्यहोरिरहेको तथा ३१ प्रतिशत व्यापार घटेको र कूल ग्राहस्थ उत्पादन दर शून्य दशमलव ९ प्रतिशत गिरेको तथ्यांक पनि व्यबसायीले पेश गरेका छन् । कार्यक्रममा महासंघका अध्यक्ष पुशपति मुरारकाले भूकम्पले प्रभावित भएको अर्थतन्त्रलाई बन्द हड्तालले झनै तहस नहस पारेको भन्दै छिटो समस्याको समाधान खोज्न आग्रह गरे । अर्थमन्त्री पौडेलले निजी क्षेत्रको समस्या समाधान गर्न सरकार गम्भीर रहेको भन्दै धैर्य गर्न आग्रह गरे । उनले तराई–मधेसमा जारी आन्दोलन र नाकाबन्दी छिट्टै अन्त्य हुने दाबीसमेत गरे । नीजी क्षेत्रको समस्या सरकारको समस्या भएको भन्दै साझा रुपमा यसको समाधान गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा व्यबसायीहरुले भूकम्पले १४ जिल्ला प्रभावित पारे पनि बन्द हड्तालले ७५ वटै जिल्ला प्रभावित भएको उल्लेख गरे । भूकम्पले ७ लाख नेपालीलाई र अहिले जारी बन्द हड्तालले थप ७ लाखलाई गरीबीको रेखामुनि पारेको व्यबसायीहरुको भनाई छ ।