वीरगञ्जको जनजीवन सामान्य बन्दै
काठमाडौ, २९ पुस । मधेस आन्दोलनको केन्द्रबिन्दु बनेको वीरगञ्ज सामान्य दैनिकीमा फर्कन थालेको छ । रक्सौल नाकाको मितेरी पुलमा मधेसी मोर्चाका कार्यकर्ताको संख्या न्यून भए पनि नाका भने खुल्न सकेको छैन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय मधेशी गठबन्धनका नेता तथा कार्यकर्ताहरु मितेरी पुलमा हुँदै आएको धर्नामा नदेखिएको कयौं दिन भइसकेको छ । धर्ना सुरु हुँदा दैनिक पाँच सयभन्दा बढी नेता तथा कार्यकर्ताको उपस्थिती हुने मितेरी पुलमा अहिले मुस्किलले १०/१५ जना कार्यकर्तामात्र भेटिन्छन् ।
हजारौंको संख्यामा मितेरी पुलमा धर्नामा बस्नको लागि बारा, पर्साको ग्रामिण भेगबाट सर्वसाधारणसमेत आउने गरेकोमा हाल धर्नामा सर्वसाधारणले सहभागिता जनाउन छाडेका छन् । करिब पाँच महिनादेखिको बन्द र तीन महिनाभन्दा लामो समयदेखि सीमा नाकामा हुँदै आएको धर्नाका बाबजुद अहिलेसम्म कुनै उपलब्धि नदेखिएपछि आन्दोलनका कार्यक्रममा सर्वसाधारणको उपस्थिती न्यून भएकोमात्र होइन, सीमावर्ती भारतीय सहर रक्सौलका व्यापारीहरुले आन्दोलनकारीहरु माथि पटक–पटक आक्रमणसमेत गरिसकेका छन् ।
एक साता यता, वीरगञ्ज बजारका पसल व्यवसायहरु पनि बिहानैदेखि संचालन हुन थालेको छ । सहरी क्षेत्रको सडकमा साना सवारीका साधनहरु समेत सञ्चालनमा आएका छन् । विगत पाँच महिनादेखि बन्द यातायात, बजार र पसलहरु एक सातादेखि सञ्चालन हुन थालेको हो ।
वीरगञ्जको घण्टाघर, माईस्थान, नगवा, मुर्ली, बाईपास लगायतका ठाउँहरुमा एक साता अगाडिसम्म दैनिकजसो आन्दोलनकारीहरुले टायर बालेर प्रदर्शन गर्दै आएका थिए भने हाल आन्दोलनकारीहरु सहरमा देखा पर्न छाडेका छन् । आन्दोलनकारीहरुको उपस्थिती हराएसँगै वीरगञ्जमा दैनिकी सामान्य बन्न थालेको हो ।
वीरगञ्ज–काठमाडौं रुटको टाटासुमोहरु धर्नास्थल मितेरी पुल नजिकबाटै निर्वाध रुपमा चल्न थालेका छन् भने साना सवारीका साधनहरु, स्कुल बस, ट्याम्पु, टांगा, इ–रिक्सा, निजी कार, भ्यान, जिप, ट्याक्टर लगायतका सवारी साधनहरु एक सातादेखि उपमहानगर क्षेत्रमा सञ्चालन भइरहेका छन् ।