नुवाकोटमा गोरु जुधाउने मेला

काठमाडौं, १ माघ । आज मकरसंक्रान्ति । नेपालीहरु नदीहरुको घाट, त्रिवेत्री लगायतमा स्नान गरि पवित्र भइ मिठो मसिनो खाएर पर्व मनाउने गर्छन । घ्यू चाकु, तरुल रोटी लगायत मिष्ठान्न भोजन गरि माघे संक्रान्त मनाउने नेपालीहरुको परम्परा हो ।
चितवनको देवघाटमा स्नान गर्नेको घुइचो लाग्छ आजकै दिने । अनि नेपालको तराई क्षेत्रमा थारु वस्तीहरुमा त माघे संक्रान्तिलाई माघी भनेर हषोल्लास साथ मनाउछन् । नुवाकोटमा भने माघेसंक्रािन्तको थप विशेषता जोडिएको छ, न्यो गोरु जुधाएर गरिने रमाइलो । नेपाली ‘बुलफाइट’ भनिने गोरु जुधाउने मेला तारुका र बेत्रावतीमा आज २० हल गोरु जुधाउने तयारी भएको छ । तारुका–५ चन्दनीको बारीको पाटोमा यो वर्ष गोरु जुधाउन १५ हल दर्ता भएको माघेसंक्रान्ति मेला व्यवस्थापन समितिका अध्यक्ष जनकरजा ढुंगानाले बताए ।
मेलामा सहभागी गराउने गोरु पाल्ने किसानलाई अन्नपात तथा अण्डालगायतका दाना सहित दुर्घटना बीमा समेतको व्यवस्था गरिएको समितिले जनाएको छ ।
यस्तै, नुवाकोटको बेत्रावतीमा यो वर्ष ५ हल गोरु जुधाइदै छ । गोरु जुधाउने मेलालाई व्यवस्थित र सुरक्षित बनाउन ध्यान दिइएको आयोजक गोसाइकुण्ड युवा क्लबका अध्यक्ष सुरज लवटले बताए ।
नुवाकोटमा गोरु जुधाउन थालिएको आधिकारिक तिथि मिती थाह नभए पनि यो दुई सय ५० वर्ष भन्दा पुरानो मानिन्छ । पहिले पहिले आआफ्नो टोल टोलमा सिमित क्षेत्रमा गोरु जुधाएर मनोरन्जन लिने गरिएको तारुका २०६१ सालबाट व्यवस्थित रुपमा एकस्थानमा गोरु जुधाउन थालिएको हो । यस्तै, बेत्रावतीमा भने २०६४ सालबाट व्यवस्थित रुपमा गोरु जुधाउन थालिएको हो । गोरु जुधाइ मेला हेर्न काठमाडौंदेखि मानिसहरु ओइरो लाग्ने गर्दछन् ।