राष्ट्रिय ढुकुटीमा ब्रहम्लुट नमच्चाउ
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सम्हालेपछि देशको अधोगति र जनताको दैनिकी चौपट भएको छ । देश र जनताले सरकार हुनु र नहुनुको फरक महसुस गर्न पाएका छैनन् । भूकम्प र नाकाबन्दीले आक्रान्त बनेका जनताले राज्यबाट कुनै सहयोग पाएका छैनन् । जनता दिनप्रतिदिन प्रताडित बनिरहेका छन् । तर, सरकारले भाषणबाहेक जनताको लागि केही गर्न सकेको छैन । सरकारले जनताको पीडा कम गर्नु त कता हो कता बरु प्रधानमन्त्री ओलीकै अभिव्यक्तिले थप पीडा भोग्न बाध्य भएका छन् । प्रधानमन्त्री जनताको समस्यालाई समाधान गर्नुको सट्टा हाँसी–मजाक गरेर उडाउन मस्त भएको उनको अभिव्यक्तिबाट पुस्टि हुन्छ । प्रधानमन्त्री केपी ओलीले आपूmले सरकारको बागडोर सम्हालेको तीन महिना बितिसक्दासमेत जनताको निम्ति तिलको दाना बराबर पनि राहतको महसुस गराउन सकेनन् । बरु उनले यो तीन महिनामा तीन करोडभन्दा बढी विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता र पहुँचवाला व्यक्तिलाई बाँडेर बद्नामी कमाए भने आफ्ना सल्लाहकार, विज्ञ र स्वकीय सचिवलाई मासिक डेढ लाखसम्म तलब सुविधा दिएर प्रचलित नियम, कानुनको समेत खिल्ली उडाए । प्रधानमन्त्री केपी ओलीको अभिव्यक्ति र कार्यशैलीबाट अहिले आमनागरिक अवाक बनेका छन् । प्रधानमन्त्री ओलीले देशको ढुकुटीलाई ‘लुटको धन फुपुको श्राद्ध’ भनेजस्तो गरेर ब्रह्मलुट मच्याउनुले उनीप्रति आमजनता आक्रोशित बनेका छन् । देश संकटग्रस्त भएको र नागरिक दुई गाँस खाना, एकसरो लुगा र टाउको लुकाउने झुप्रोको लागि तड्पिरहेको समयमा प्रधानमन्त्री ओलीले यसरी फजुल खर्च गर्नु आफैँमा निन्दनीय र लाजमर्दो कुरा हो । प्रधानमन्त्रीको यिनै कार्यशैलीका कारण उनको छवि आमजनतामाझ धुमिल हुन पुगेको छ । भाषणमा आफ्नो सन्तान नभएको र केका लागि भ्रष्टाचार गर्नु भन्ने ओलीले व्यवहारमा त्यसको ठीक उल्टो गरिरहेको आमनागरिकको बुझाइ छ । तसर्थ, प्रधानमन्त्री ओलीले देश र जनताको अवस्था बुझी तत्काल राज्यको ढुकुटीमा ब्रह्मलुट मच्याउन रोक्नुपर्छ । अन्यथा यसको विरुद्ध जनता सडकमा ओर्लनेछन् । जनता सडकमा ओर्ले भने के हुन्छ , आफुलाई प्रजातन्त्रको हिमायती ठान्ने प्रधानमन्त्री ओलीलाई यो विषय सम्झाइरहनु नपर्ला ।