आइएसद्वारा सिरियामा भिषण आक्रमण सयौ मारिए

२०७२ माघ ३ गते, आईतवार

काठमाडौं, ३ माघ । सरकारी नियन्त्रणमा रहेको सिरियाको पूर्वी सहर दीर अल जूरमा इस्लामिक स्टेटले गरेको आक्रमणमा दर्जनौ नागरिक मारिएका छन् ।
चरमपन्थी संगठन आइएसको आक्रमणबाट ८५ जना सर्वसाधारण र ५० जना सिरियाली सैनिक मारिएको लण्डनस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइटसले जनाएको छ।
यता सिरियाको सरकारी समाचार एजेन्सी सानाले भने कम्ती पनि ३ सय जना सर्वसाधारण मारिएको जनाएको छ। राष्ट्रसंघले घेराबन्दी गरिएको क्षेत्रमा जनजीवन कष्टकर बनेको जनाएको छ।
मानवीय मामिला समन्वय गर्ने राष्ट्रसंघीय एजेन्सी ओसीएचएले करिब दुई लाख नागरिक उक्त घेराबन्दीमा फसेको जनाएको छ। सिरियाको लोकल कोअर्डिनेशन कमिटि –एलसीसी)का अनुसार इस्लामिक स्टेटका लडाकुहरुले शनिबार सरकार नियन्त्रित क्षेत्रमा आक्रमण गरेका थिए ।
एलसीसीका अनुसार पहिला बम विष्फोट भएको र त्यसपछि जमिनी युद्ध सुरु भएको थियो । सरकारी सेनाले जवाफी कारबाही तिब्र बनाएको छ। रुसका अनुसार विभिन्न क्षेत्रमा फसेका नागरिकको सहयोगका लागि राहत सामग्री खसालेको छ। रुसले उक्त क्षेत्रमा हवाई आक्रमणसमेत गरेको बताइएको छ। सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले सिरियाको ६० प्रतिशत भुभाग आइएसले नियन्त्रणमा लिएको दावी गरेको छ । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]