मूल्य वृद्धी दोब्बर बढ्यो : राष्ट्र बैंक
काठमाडौं, ५ माघ । नेपाल राष्ट्र बैंकले मुलुकको निर्यात व्यापार घट्दै गएको जनाएको । बैंकले चालु आर्थिक वर्षको पाँच महिनाको आर्थिक अवस्था सोमबार सार्वजनिक गर्दै कुल वस्तु निर्यात २९ दशमलव १ प्रतिशतले घटेर २६ अर्ब १७ करोडमा सीमित भएको जनाएको छ । भारतको अघोषित नाकाबन्दीपछि दक्षिणका भन्सार नाका बन्द भएका छन् भने भूकम्पका कारण उत्तरतर्फको तातोपानी नाकासमेत अवरुद्ध भएका कारण निर्यात घटेको बैंकले उल्लेख गरेको हो ।
वस्तुगत आधारमा भारतर्फ जिंक, लत्ताकपडा, जुस, जिआइ पाइपलगायतका वस्तु र चीनतर्फ प्रशोधित छाला, चाउचाउ, तयारी पोसाकलगायतका वस्तु र अन्य मुलुकतर्फ दाल, चिया, हस्तकलाका सामानको निर्यात घटेको हो ।
अघिल्लो वर्ष यही अवधिमा निर्यात १ दशमलव २ प्रतिशतले घटेर ३६ अर्ब ९१ करोड रहेको थियो । यस्तै समिक्षा अवधिमा कुल वस्तु आयात ३२ प्रतिशतले घटेर दुई खर्ब १३ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा त्यस्तो आयात १६ दशमलव ३ प्रतिशतले वृद्धि भई तीन खर्ब १४ अर्ब ५२ करोड पुगेको थियो ।
तराई क्षेत्रमा जारी आन्दोलन र दक्षिणी सीमा नाकामा रहेको अवरोधका कारण आपूर्ति व्यवस्थामा समस्या उत्पन्न भएकाले पेट्रोलियम पदार्थलगायतका वस्तुको आयात घट्न गई समिक्षा अवधिमा समग्र आयातको वृद्धिदर ऋणात्मक रहन गएको बैंकले जनाएको छ ।
बैंकका अनुसार भारतबाट आयात ३९ दशमलव २ प्रतिशत, चीनबाट १४ दशमलव १ प्रतिशत र अन्य मुलुकबाट हुने आयात २२ दशमलव ६ प्रतिशतले घटेको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थको आयात अघिल्लो वर्षको पाँच महिनाको ४९ अर्ब ८८ करोडबाट ६६ दशमलव २ प्रतिशतले घटी १८ अर्ब ३५ करोडमा सीमित भएको छ ।
मेसिनरी पार्टपूर्जा, स्टिल डण्डी, चाँदी, कच्चा सोयाविन तेल र खाद्य तेललगायत पुँजीगत सरसामान, औद्योगिक कच्चा पदार्थ र उपभोग्य वस्तुको आयात उल्लेख्य घटेको छ ।
विप्रेषण बढ्यो
त्यसैगरी बैंकका अनुसार पाँच महिनाको अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव ४ प्रतिशतले बढेको छ । यो अवधिमा विप्रेषण आय तीन खर्ब १५ अर्ब ५० करोड रहेको छ ।
अघिल्लो वर्षको पाँच महिनामा यस्तो आय १ दशमलव ३ प्रतिशतले मात्रै बढेको थियो । तर अन्तिम श्रम स्वीकृतिका आधारमा हेर्दा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या भने २२ दशमलव ६ प्रतिशतले घटेको छ ।
विदेशी विनिमय सञ्चिती बढ्यो
बैंकका अनुसार वैदेशिक मुद्रा सञ्चितिमा २०७२ असार मसान्तको आठ खर्ब २४ अर्ब ६ करोडबाट १९ दशमलव ६ प्रतिशतले वृद्धि भई २०७२ मंसिर मसान्तमा नौ खर्ब ८५ अर्ब ५२ करोड रहेको छ । कुल सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव १ प्रतिशत रहेको छ ।
धान उत्पादन घट्ने
बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार धानको उत्पादन १० प्रतिशतले घट्ने देखिएको छ । तर मकैको उत्पादन भने चार प्रतिशतले बढ्ने अनुमान गरिएको छ । रासायनिक मलको आपूर्ति सहज हुन नसकेकाले हिउँदे बाली, खासगरी गहुँ उत्पादनसमेत प्रभावित हुने देखिएको छ ।
खाद्य तथा पेयपदार्थमा मूल्य वृद्धि भएको छ । दलहन तथा गेडागुडीको मूल्य ४८ दशमलव ९ प्रतिशत, घिउ तथा तेलको मूल्य ४२ दशमलव ३ प्रतिशतले बढेको छ । मसला, लत्ताकपडा एवम् जुत्ता, फलफूल तथा माछा मासुको मूल्यमा क्रमशः १५ दशमलव ३ प्रतिशत, १४ दशमलव ६ प्रतिशत, १४ दशमलव ३ प्रतिशत र १३ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ ।
समिक्षा अवधिमा काठमाडौं उपत्यकामा सबैभन्दा बढी अर्थात १३ दशमलव २ प्रतिशतले मूल्य वृद्धि भएको छ । यस्तै पहाडमा १२ दशमलव ४ प्रतिशत, हिमालमा १० दशमलव ३ प्रतिशत र तराईमा १० दशमलव २ प्रतिशतले मूल्य वृद्धि भएको छ ।
अघिल्लो वर्ष यही अवधिमा मूल्य वृद्धिदर काठमाडौं उपत्यका र पहाड दुवैमा ६ दशमलव ९ प्रतिशत र तराईमा ७ दशमलव २ प्रतिशत रहेको थियो ।- रासस