पेरिस आक्रमणमा संलग्नको भिडियो सार्वजनिक
काठमाडौं, ११ माघ। आतंककारी संगठन इस्लामिक स्टेट आइएसले फ्रान्सको राजधानी पेरिसमा भएको आतंककारी आक्रमणमा संलग्नको भिडियो सार्वजनिक गरेको छ । आतंककारी गतिविधिको निगरानी गर्ने एक समूहले आइएसले गत नोभेम्बरमा गरेको पेरिस आक्रमणमा संलग्न आक्रमणकारी भिडियो अनलाइनमा पोस्ट गरेको जनाएको छ । भिडियोमा तस्वीर देखाइएको र ती मध्ये ८ जनाको तस्वीर आरोपित आक्रमणकारीसँग मिल्दोजुल्दो रहेको निगरानी समूहले जनाएको छ । भिडियोमा पेरिसका विभिन्न ठाउँमा गरिएको आक्रमणको नामसमेत दिइएको छ ।
आक्रमणमा १ सय ३० जनाको ज्यान गएको थियो । भिडियो आफूलाई आइएस बताउने इस्लामिक समूहको मिडिया च्यानलमार्फत् सार्वजनिक गरिएको हो । भिडियोमा चार जना कैदीको टाउको काट्दै गरेको अवस्थामा देखिने विश्लेषकहरुले बताएका छन् ।
भिडियो पेरिस आक्रमणभन्दा पहिला नै रक्का शहरमा खिचिएको हुनसक्ने निगरानी समूहले जनाएको छ । इराकको रक्का शहरलाई आइएसको राजधानीको रुपमा लिने गरिएको छ ।
भिडियोमा देखाइएको एक तस्वीर आक्रमणकारी अब्देलहमिद अबाउदसँग मिल्दोजुल्दो छ । अबाउदलाई आक्रमणको योजनाकारका रुपमा लिइएको छ । बेल्जियम मुलकका अबाउदको पेरिस आक्रमणको केही दिनपछि प्रहरी कारबाहीका क्रममा पेरिसको एक फ्ल्याटमा ज्यान गएको थियो ।
पेरिस आक्रमणपछि अहिलेसम्म ९ जना आक्रमणकारी मारिएका छन् भने दुई जनाको अहिले पनि खोजी भइरहेको छ । फ्रान्सको विदेश मन्त्रालयले यो भिडियोका बारेमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ । – एजेन्सी