६१ जिल्लामा दादुराविरुद्धको खोप अभियान चलाइने
काठमाडौ, १२ माघ । सरकारले ६१ जिल्लामा दादुराविरुद्धको खोप अभियान चलाउने भएको छ । सरकारले मुलुकका बिभिन्न जिल्लामा दादुराले बालकालिकाको मृत्यु हुनेक्रम नरोकिएपछि खोप अभियान चलाउने तयारी गरेको हो । भुकम्प प्रभावित १४ जिल्लालाई लक्षित गरि दादुराविरुद्धको अभियान यसअघि चलाइकिएको छ भने बाँकि ६१ जिल्लामा दादुरा बिरुद्धको खोप अभियान चलाउने तयारी स्वास्थ्य मन्त्रालयको छ । निःशुल्क लगाउन पाउने दादूराविरुद्धको खोप नलगाएकै कारण नेपालको पश्चिमी क्षेत्रका ९ जना बालबालिकाको ज्यान गइसकेको छ ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको ईपिडिमियोलजि तथा रोग नियन्त्रण महाशाखा प्रमुख बाबुराम मरासीनीले दादुरा विरुद्ध खोपको तयारी भइरहेको बताए । ९ महिनादेखि ५ बर्षसम्मका बालबालिकाहरुलाई दादूराको खोप लगाउनुपर्छ । खोप लगाएकामध्ये करिब १५ प्रतिशतमा यसले काम नगर्ने गरेको बालस्वास्थ्य महाशाखा अन्तर्गत खोप शाखा प्रमुख मुकुन्द गौतमले बताए ।