माथिल्लो मादी जलविद्युत आयोजना असार मसान्तभित्र सम्पन्न हुने

२०७२ माघ १२ गते, मंगलवार

काठमाडौ, १२ माघ । कास्की जिल्लाको सिल्दुजुरे गाविसमा निर्माणाधीन माथिल्लो मादी जलविद्युत् आयोजनाको काम असार मसान्तभित्र समाप्त गर्ने लक्ष सहित सुरु भएको छ । भारतको अघोषित नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनले इन्धन तथा आयोजनालाई चाहिने अत्यावश्यक वस्तुको अभाव भएपछि असोजको पहिलो हप्तादेखि नै आयोजनाको सम्पूर्ण काम बन्द भएको थियो । आयोजनाका लागि इन्धनको सहज र बाहिरबाट मगाइएका उपकरण सीमा नाकाबाट आउन थालेपछि आयोजनाको काम सुरु भएको आयोजनाका संयोजक रामराज कोइरालाले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय कास्कीको सिफारिसमा नेपाल आयल निगम गगनगौडा डिपोले दैनिक एक हजार ५०० लिटर इन्धन उपलब्ध गराउने सहमति भएको र कामका लागि आवश्यक पर्ने सिमेन्टको पनि व्यवस्था भएकाले आयोजनाको काम अब द्रुत गतिमा अघि बढ्ने बताइएको छ ।
आयोजनाको चार हजार २०० मिटर लामो सुरुङ खनिसकेको र अन्य कामसमेत गरी हालसम्म ८५ प्रतिशत काम सकेको आयोजना प्रमुख कोइरालाले बताए ।
आयोजनाको काम बन्द भएपछि आ–आफ्नो घर गएका प्राविधिक र कामदार पनि काममा फर्केका छन् । अब कुनै अवरोध नहुने हो भने यसै आर्थिक वर्षको असार मसान्तसम्ममा सम्पूर्ण काम सकेर विद्युत् उत्पादन गरिने बताइएको छ ।
पच्चीस मेगावाट क्षमताको उक्त आयोजना निर्माण गर्न करिब रु पाँच अर्ब २८ करोड खर्च भएको छ । चाइना ‘थ्री गर्जेज’ कर्पोरेसनको ८० प्रतिशत र आयोजनाका कार्यकारी अध्यक्ष विजय मल्लको २० प्रतिशतको लगानीमा विसं २०६९ को पुसदेखि आयोजनाको काम सुरु गरिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार