मौसम सुधार हुँदै जाने
काठमाडौ, १४ माघ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण केही दिनयता खराब भएको मौसममा आजदेखि सुधार हुँदै जाने बताएको छ ।
पश्चिमी वायुको प्रभाव केही दिनयता जारी रहँदा काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा मौसम बदली भई बढी चिसो महशुस गरिएकोमा अब बिस्तारै मौसम सफा हुँदै जाँदा चिसो कम हुँदै जानेछ ।
आज बिहान तराइका अधिकांश क्षेत्र र काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा हुस्सु लागे पनि विस्तारै घाम लाग्दै जानेछ र मौसममा सुधार आउँदै जाने मौसमविद् वरुण पौडेलले जानकारी दिए । उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा हल्का वर्षा र हिमपात हुने संभावना भए पनि अन्य क्षेत्रमा पानी पर्ने संभावना छैन । अहिले काठमाडौं उपत्यकाको तापक्रम ६ दशमवल ८ रहेको छ भने बिहान पौने ६ को रेकर्डअनुसार ४ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।