फोन गर्दा नम्बर नदेखिने सुविधा हट्यो
काठमाडौ, १५ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि मोबाइल सेवाप्रदायक कम्पनीले ‘मोबाइल नम्बर नदेखिने’ (कलर आइडी हाइड) सुविधा हटाएका छन् । फोन गर्दा नम्बर नदेखिने सुविधाले आपराधिक क्रियाकलाप बढाएको भन्दै अख्तियारले त्यसलाई रोक्न निर्देशन दिएपछि सेवाप्रदायकले सुविधा हटाएका हुन् । अख्तियारको निर्देशनपछि नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाप्रदायकलाई ‘कलर आइडी हाइड’ सुविधा हटाउन भन्दै बुधबार पत्राचार गरेको थियो । प्राधिकरणको पत्राचारपछि दुवै सेवा प्रदायकले त्यस्तो सुविधा हटाएका हुन् ।
अख्तियारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपप्रधानमन्त्री, गृहमन्त्री र सूचना तथा सञ्चारमन्त्रीलाई मात्रै कलर आइडी हाइड सुविधा (नम्बर नआउने) सुविधा दिन निर्देशन दिएको थियो । तोकिएका यी भिआइपीका मोबाइलबाट फोन गर्दा फोन जाने मोबाइल (रिसिभर) मा नम्बर देखिँदैन ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले अब फोन गर्दा नम्बर नदेखिने सुविधा उपलब्ध नहुने बताए । ‘टेलिकमले कलर आइडी हाइड हुने सविधा हटाइसकेको छ,’ उनले भने, ‘अब तोकिएका भिआइपीबाहेक अन्यले यस्तो सुविधा पाउनेछैनन् ।
एनसेलले पनि कलर आइडी हाइड हुने सविधा हटाउन सुरु गरेको एनसेलका कर्पोरेट कम्युनिकेसनविज्ञ मिलनमणि शर्माले जानकारी दिए । ‘प्राधिकरणले एनसेललाई त्यस्तो सुविधा हटाउन भन्दै बुधबार पत्र पठाएको थियो,’ उनले भने, ‘बिहीबारदेखि नै हामीले सुविधा हटाएका छौँ । अब प्राधिकरणले तोकेका भिआइपीबाहेकलाई कलर आइडी हाइड हुने सविधा दिइनेछैन ।’
अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले मोबाइल सेवाप्रदायकले भिआइपीलाई दिँदै आएको कलर आइडी हाइड गर्ने सुविधा हटाएको जानकारी गराएका छन् । उनले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन्, ‘मोबाइल सेवाप्रदायकले भिआइपी भन्दै कलर आइडी हाइड गर्ने अर्थात् मोबाइलबाट अरूलाई फोन गर्दा लोकल आइडी/अन्नोन/ब्लक आउने सुविधा बन्द गरेछन् ।’
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ माघमा ‘कलर आइडी हाइड’ गर्ने सुविधाबारे सरोकारवाला निकायसँग छलफल गरेको थियो । छलफलपछि आयोगले तोकिएका भिआइपीबाहेक अरूलाई त्यस्तो सुविधा नदिन र दिएको सविधा हटाउन निर्देशन दिएको थियो ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपप्रधानमन्त्री, गृहमन्त्री र सूचना तथा सञ्चारमन्त्रीले मात्रै कलर आइडी हाइड सुविधा (नम्बर नआउने) सुविधा लिन सक्नेछन्
कुनै नम्बरबाट फोन गर्दा त्यो फोन पुग्ने नम्बर (रिसिभर)को मोबाइलमा नम्बर देखिँदैन भने त्यो कलर आइडी हाइड (नम्बर नदेखिने) सुविधा हो । यस्तो सुविधाअनुसार फोन गर्ने मान्छेको नम्बर फोन उठाउनेको मोबाइलमा देखिँदैन । मोबाइल नम्बरको साटो अन्नोन, प्राइभेट, नो कलर आइडी, ब्लक जस्ता शब्द देखिन्छन्।