जिकाविरुद्ध खोप निर्माण चुनौतीपूर्ण
काठमाडौ, १५ माघ । अमेरिकाको युनिभर्सिटी अफ टेक्ससका वैज्ञानिकहरुले जिका भाइरसविरुद्धको खोप सार्वजनिक प्रयोगमा ल्याउने गरी निर्माण सम्पन्न गर्न एक दशक लाग्न सक्ने बताएका छन्।
उनीहरुले खोप निर्माण गर्ने क्रममा अधिकांश समय नियमनकारी निकायबाट स्वीकृति लिनमा खर्च हुने बताएका हुन्।
जिका भाइरस २० भन्दा बढी देशमा फैलिएको छ र ब्रजिलमा हजारौँ मानिसहरु जिकाबाट संक्रमित भएका छन्।
उक्त भाइरसका कारण गर्भावस्थामा नै शिशुको मस्तिष्कमा क्षति पुग्न सक्ने बताइन्छ।
खोप
हाल जिकाविरुद्धको खोप वा उपचार संभव छैन र त्यसबाट संक्रमण भएको पत्ता लगाउन समेत कठिन रहेको छ। युनिभर्सिटी अफ टेक्ससको मेडिकल विभागका वैज्ञानिकहरुले खोप पत्ता लागउने प्रयत्न गरिरहेका छन्। अनुसन्धान एवं नमुना संकलनका लागि ब्रजिलको भ्रमण गरेका उनीहरुले अहिले उच्च सुरक्षा प्रणाली रहेको ग्लेभस्टोन प्रयोगशालामा विश्लेषण गरिरहेका छन्। तर उनीहरुले परिक्षणका लागि दुई वर्षभित्र खोप तयार गर्न सकिने भएपनि नियमनकारी निकायबाट त्यसको प्रयोगको स्वीकृति पाउन अर्को एक दशक लाग्न सक्ने चेतावनी दिएका छन्। उक्त अनुसन्धान चलिरहेको प्रयोगशाला अवस्थित भवनमा आउजाउमा प्रहरी र अमेरिकी संघीय सुरक्षा निकाय एफबीआईले निकै कडाई गरेका छन्। उक्त परिसरबाट बीबीसीसँगकुरा गर्दै प्राध्यापक स्कट वेभियरले भने उक्त भाइरसबाट मानिसहरु डराउनु स्वाभाभिक भएको बताए। उनले भने, “यसले वास्तवमै अमेरिकामा विष्फोटक रुपमा लिइरहेको र निकै द्रुत गतिमा यो बिन्दुमा त्यो भाइरस दशौँ लाख मानिससम्म फैलिसकेको छ।” वेभियर भन्छन्, “यसबाट साच्चै उल्लेखनीय जोखिम रहेको छ। यदि गर्भावस्थामा नै हुने संक्रमण फैलिन थाल्यो भने त्यसको उपचार गर्ने प्रणाली हामीसँग छैन।”
बाँदर
उनले जिकाको संक्रमणले बालबालिकाको मानसिक क्षमतामा आजीवन ह्रास आउन सक्ने बताए। सन् १९४७ मा युगाण्डाको जिका जंगलका बाँदरमा फेला परेको उक्त भाइरस पहिलो पटक सन् १९५४ मा नाइजेरियामा मानिसमा देखिएको थियो। तर लामो समयसम्म मानवलाई खासै हानी नगरेपछि वैज्ञानिकहरुले जिकाबारे खासै चासो दिएका थिएनन्। पान अमेरिकन हेल्थ अर्गनाइजेनका प्रमुख डाक्टर मार्कस इस्पिनल जिकाको संक्रमण फैलन नदिन लामखुट्टे नियन्त्रणमा ध्यान दिनुपर्ने बताउछन्।
“यदि देशहरुले फोहोर सफा गरे, लामखुट्टेले बच्चा जन्माउने पानीका खाल्टाखुल्टी पुर्ने र फोहोर फाल्ने भाँडाहरुलाई ढाक्न सकियो भने मलाई लाग्छ महिलामाथि हुने यो भाइरसको संक्रमण उल्लेखनीय रुपमा घटाउन सकिन्छ।”
जिकाको संक्रमणका क्रममा सुरुमा डेगी ज्वरो जस्तै अवस्था देखिने र रुघा खोकी हुँदा जस्तै हाड जोर्नी दुख्ने, आँखा पोल्ने लगायतका लक्षण देखिन्छन्।
तर केही मानिसमा यसको कुनै लक्षण नदेखिने र खराब अवस्थामा यसले स्नायु प्रणालीलाई नष्ट पार्दै पक्षघातसमेत निम्त्याउन सक्ने वैज्ञानिकहरुको भनाइ छ। – एजेन्सी