आज सहिद दिवस
काठमाडौ, १६ माघ । सहिद दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रजातन्त्र र स्वतन्त्रता प्राप्तिका लागि आफ्नो ज्यान बलिदान दिने सहिदहरूको सम्झनामा आज देशभर सहिद दिवस मनाउन लागिएको हो । राजधानीको लैनचौरको सहिदपार्कमा अहिले बिहान ९ बजे बिशेष समारोहकाबीच श्रद्धाञ्जलीसभा आयोजना गरिँदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओली समारोहमा जाने कार्यक्रम छ । रत्नपार्कको शान्तिवाटिकामा अहिले बिहान साढे ९ बजे भेला भई प्रभातफेरीसहित सहिद स्मारक लैनचौरमा पुगेरसहितको प्रतिमामा श्रद्धाञ्जली अर्पण गरिने कार्यक्रम छ ।
यसै अवसरमा राजधानीको गोकर्णमा रहेको सहिद पार्कमा पनि आज दिउँसो विशेष कार्यक्रम गरिदैछ । जहानियाँ राणाशासन, निरंकुश पञ्चायती व्यवस्था र तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति र लोकतान्त्रिक जनआन्दोलनमा वीर सपुतहरूले गरेको बलिदानको स्मरणमा हरेक बर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ ।
सहिद दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिने गरेको छ । जहानियाँ राणाशासनको अन्त्यका लागि ज्यानको बाजी लगाएका सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दका साथै लोकतन्त्र प्राप्तिका लागि बलिदान दिने ज्ञात अज्ञात सहिदहरुको सम्झनामा प्रत्येक वर्ष माघ १० गतेदेखि एकसातासम्म सहिद सप्ताहको रुपमा मुलुकभर विभिन्न कार्यक्रम गर्ने गरिएको छ ।
बि.स १९९७ माघ १० गते राणाशासन बिरुद्ध नेपाल प्रजापरिषद स्थापना गरि जनतालाई आफनो हक र अधिकारको लागि क्रान्ति गर्न उत्प्ररित गर्ने शुक्रराज शास्त्रीलाई टेकुको खरिको रुखमा झुण्ड्याएर मारिएको थियो भने धर्मभक्त माथेमालाई त्यसको तीन दिनपछि सिफलमा झुन्डयाइएको थियो । यस्तै दशरथ चन्द र गंगालाल श्रेष्ठलाई भने माघ १५ गते काठमाडांैको बिष्णुमती किनारस्थित शोभाभगवतीमा गोली हानेर मृत्युदण्ड दिइएको थियो ।