प्रधानमन्त्रीको भारत भ्रमण फागुन पहिलो साता
काठमाडौ, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण फागुन पहिलो साता हुने तय भएको छ । प्रधानमन्त्रीको भारत भ्रमणको लागि फागुन ७ देखि ११ सम्मको मितिसहित प्रारम्भिक भेटवार्ताको कार्यतालिका पनि बनाइएको छ । अन्तिम कार्यतालिका केहीदिनमा तय हुनेछ । नाका नखोली भारत नजाने अडान लिनु भएका प्रधानमन्त्री ओलीले त्यसअघि नै नाका खुल्ने पक्का भएपछि भ्रमणको कार्यतालिका तय गरिएको स्रोतले जानकारी दिएको छ ।
भारतीय अधिकारीहरुसँगको औपचारिक छलफलपछि प्रधानमन्त्री ओलीको भारत भ्रमण तय भएको हो । प्रधानमन्त्रीको भारत भ्रमणको तयारीका लागि अर्थमन्त्री विष्णु पौडेल माघ २४ दिल्ली जाने तय भएको छ । पौडेलेको भ्रमणपछि प्रधानमन्त्री भ्रमणको मिति औपचारिक सार्वजनिक हुनेछ ।