कांग्रेसका नेता ढुंगानालाई १० बजेभित्र जिल्ला छाड्न चेतावनी

२०७२ माघ १७ गते, आईतवार

काठमाडौं, १७ माघ । नेपाली कांग्रेसका नेता आनन्द प्रसाद ढुंगानालाई आइतबार १० बजेभित्र जिल्ला छाड्न मधेसी मोर्चाले चेतावनी दिएको छ । कांग्रेसको अधिवेशनका सिलसिलामा गृह जिल्ला धनुषा पुगेका कांग्रेस नेता ढुंगानालाई मोर्चामा आबद्ध सद्भावना पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रिय नेताहरुले नै जिल्ला छाडन चेतावनी दिएका हुन् ।
यसैगरी मोर्चाले एमाले, एमाओवादीका नेताहरुलाई पनि जिल्ला छाड्न चेतावनी दिएका छन् । हामीसँगको कुराकानीमा नेता ढुंगानाले मोर्चाका नेताहरुमा लोकतन्त्रमाथि विश्वास नभएकाले यस्तो हर्कत देखाएको बताए । उनले जिल्लास्तरका अन्य दलका नेताहरुसँग छलफल गरी आफ्ना गतिविधिहरु अघि बढाउने बताए ।
तराई मधेस लोकतान्त्रिक पार्टीका सासद जंगीलाल रायले हामीले उठाएका मागहरुप्रति कांग्रेस, एमाले तथा एमाओवादीका नेताहरु गम्भिर नभएकाले आफूहरुले जिल्ला प्रवेशमा रोक लगाएको बताए । ‘तराईका विभिन्न क्षेत्रमा गोप्य रुपमा कार्यक्रमहरु गरेको बुझिरहेका छौं, सार्वजनिक कार्यक्रम गरेको थाहा पाए मधेस विरोधीहरुलाई लखेट्नेछौं,उनले धम्कीपूर्ण भाषामा भने । आसन्न १३ औं महाधिवेशनका लागि गाउँ, नगर, क्षेत्र तथा जिल्ला अधिवेशनका लागि कांग्रेस नेताहरु गाउँ गाउँमा छन् ।

प्रतिक्रियाहरु

[anycomment]