निःशुल्क भिसा र टिकट खोइ : अख्तियार

२०७२ माघ १७ गते, आईतवार

काठमाडौं, १७ माघ । सरकारले घोषणा गरेको ‘फ्रि भिसा, फ्रि टिकट’ योजनाबाट अधिकांश कामदार वञ्चित भएको भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अनुगमनका क्रममा कामदारहरूले उक्त सुविधा लिन नपाएको देखिएको हो ।
‘उनीहरू स्थानीय एजेन्ट र म्यानपावरबाट ठगिएको देखिन्छ,’ अख्तियारको अनुगमन प्रतिवेदनमा भनिएको छ । तर म्यानपावर र एजेन्टले रसिदबिनै अतिरिक्त रकम असुल्ने भएकाले ठग्नेमाथि कानुनी कारबाही गर्न कठिनाइ देखा परेको छ ।
वैदेशिक रोजगारमा जान अभिमुखीकरणमा सहभागी नभई प्रमाणपत्र मात्रै दिने, उपस्थित मात्र गराएर प्रमाणपत्र दिने प्रवृत्ति म्यानपावर कम्पनीहरूमा छ ।
सरकारले अभिमुखीकरणलाई बाध्यकारी बनाए पनि म्यानपावर कम्पनीहरूले त्यसको पालना गर्दैनन् । ‘यस्तो तालिमहरूको अनुगमन वैदेशिक रोजगार विभागबाट भएको पाइएन’ प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनका अनुसार भ्रमण भिसामा विदेश जानेले अन्तिम मुलुकको भिसा कागजात नदेखाउने र जसका कारण गैरकानुनी रूपमा जोखिमपूर्ण मुलुकमा छिर्ने कामदारले अनेक झमेला बेहोर्नुपरेको छ ।
दुबई, मलेसिया, थाइल्यान्ड, सिंगापुरलगायत मुलुकको कागजात देखाई जाने र त्यहाँबाट जोखिमपूर्ण यात्रामा अन्यत्रै जाने गरेको भेटिएको छ । महिलाहरू भारत, दुबई तथा थाइल्यान्डको ट्रान्जिट प्रयोग गरी खाडी मुलुक र अफ्रिकासम्म पुग्ने गरेका छन् ।
म्यानपावर र दलालहरूका लागि विभिन्न देशमा अध्ययन र भ्रमण भिसामा जानेले नक्कली कागजात पेस गरेपछि आधिकारिकता पुष्टिमा कठिनाइ भएको अख्तियारले जनाएको छ । कामदारहरूका लागि विमानस्थलको अध्यागमनमा डेस्कहरू पर्याप्त नभएकाले यात्रुहरू समयमै प्रक्रिया पार गरेपछि लगेज लिने ठाउँमा भीडभाड हुने र झोला हराउने समस्या छ ।
विमानस्थल बाहिर रहेको श्रम कक्ष पनि प्रभावहीन देखिएको छ । त्यहाँबाट स्टिकर रिडिङ गर्ने काम मात्र हुने गरेको र अन्य परीक्षण नभएको देखिएको छ ।
विमानस्थलमा यात्रुको चाप पनि बढ्दै गएको छ । १ हजार ३ सय ४० यात्रु प्रतिघण्टाको क्षमतामा निर्माण भएको विमानस्थलमा हाल २३ सय यात्रुको चाप छ । तर भौतिक क्षमता र विमानस्थल विस्तार नहुँदा सेवा व्यवस्थित हुन नसकेको प्रतिवेदनमा उल्लेख छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार