वाईसीएलद्वारा अख्तियार प्रमुखलाई कारबाहीको चेतावनी

२०७२ माघ १७ गते, आईतवार

काठमाडौं, १७ माघ । एकीकृत नेकपा माओवादी निकट वाईसीएलले हालै सम्पन्न आफ्नो राष्ट्रिय भेलाको निर्णय सार्वजनिक गर्दै अख्तियार प्रमुखसहित अन्य आयुक्तहरुको सम्पत्ति तत्काल सार्वजनिक गर्न माग गरेको छ । साथै वाईसीएलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई कारबाही गर्ने चेतावनी दिएको छ । भ्रष्टाचार नियन्त्रण गर्ने निकाय अख्तियार प्रमुख कार्की रायमाझि आयोगको दोषी रहेको र अहिले पनि भ्रष्टहरुसँगको हिमचिम र सम्बन्ध कायम रहेको भन्दै वाईसीएलले कारबाहीको चेतावनी दिएको हो । अख्तियारले पछिल्लो समय भ्रष्टाचार नियन्त्रणमा सामान्य देखावटी प्रचार गरेको र आयोगका उच्च पदस्थ कर्मचारीहरु मुख्य भ्रष्ट र तस्करहरुको संरक्षणमा लागेकाले आयोगको विश्वासनीयतामा प्रश्न उठेको भन्दै वाईसीएलले नै भ्रष्टाचारीहरुको प्रमाण संकलन गर्ने, सुचि तयार गर्ने र राज्यको सम्बन्धित निकायमा बुझाउने कामको अभियान छेड्ने घोषणा गरेको छ ।
सोहिक्रममा वाईसीएलका अध्यक्ष आरसी शर्माले भारतीय नाकाबन्दीका कारण देशमा चरम कालाबजारी, भ्रष्टाचार तथा दण्डहिनता बढेको भन्दै त्यसको भण्डाफोर र कारबाही गर्ने निर्णय गरेको बताए । यसैगरी, वाईसीएलले गत वैशाखमा गएको विनासकारी भूकम्पको पुनर्निर्माण अभियानमा आफ्ना १४ हजार स्वयंसेवक खटाउने घोषणा गरेको छ । सरकारले गठन गरेको पुनर्निर्माण प्राधिकरणको मागअनुसार नै स्वयंसेवक खटाउने वाईसीएलले निर्णय गरेको अध्यक्ष शर्माले जानकारी दिए । भूकम्पबाट अति प्रभावित १४ जिल्लामा १४ हजार स्वयंसेवक परिचालन गर्ने र परिचालन गर्ने जनशक्तिको दक्षताबारे प्राधिकरणलाई वाईसीएलले लिखित रुपमा अनुरोध गर्ने जनाएको छ । पुनर्निर्माणमा स्वयंसेवक परिचालन गर्ने घोषणा गरेको वाईसीएलले सरकारी पूनर्निर्माणको योजना, दाताको सहयोग र स्वंयमसेवकको परिचालन कार्यविधिमा पारदर्शीता हुनुपर्ने माग समेत अघि सारेको छ ।
यस्तै, वाईसीएलले पहिले जस्तै गरी विभिन्न सामाजिक अभियानहरुमा वाईसीएल खटाउने पनि जनाएको छ । सामाजिक अभियान अन्तर्गत देशभरका ७ वटै प्रदेशहरुमा स्वस्थ्य शिविर, ७५ वटै जिल्लाका अस्पताल, जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, मालपोत कार्यालयहरुमा पनि स्वयंवेवकीय भूमिका खेल्ने वाईसीएलले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]