वीरगन्ज–रक्सौल नाका तत्काल खुल्छ : महतो
काठमाडौं, २१ माघ । मधेस आन्दोलनका लागि सहयोग जुटाउन भन्दै भारतको बिहार पुगेर फर्किएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वीरगन्ज–रक्सौल नाका खुला गर्नुपर्ने बताएका छन् । अध्यक्ष महतोले नाका बन्द हुँदा मधेसको आर्थिक अवस्था धारासाही बन्दै गएकाले वीरगन्ज–रक्सोल नाका पनि छिट्टै खुला गर्नुपर्ने बताएका हुन् । उनले नाकाबन्दीका कारण आर्थिक राजधानीको रुपमा चिनिएको वीरगन्ज शहर धारासाही बन्दै गएको बताए । नाका खोल्ने विषयमा मोर्चामा आबद्ध अन्य दलका नेताहरुलाई सकारात्मक हुन उनको आग्रह थियो ।
अध्यक्ष महतोले अधिकांश नाका सुचारु भइसकेको अवस्थामा एउटा मात्र नाका बन्द गरेर आन्दोलन सफल नहुने बताए । नाका बन्द गरे पनि सरकारले आफूहरुका मागमा वेवास्ता गरिरहेको भन्दै सद्भावना पार्टीका अध्यक्ष महतोले आन्दोलनको स्वरुप परिवर्तन गर्ने बताए । उनले मोर्चाको आगामी बैठकमा यसबारे थप छलफल हुने जानकारी दिए ।