काठमाडौं उपत्यकामा ९ ओटा सडक विस्तार, १० ओटा अलपत्र
काठमाडौं, २२ माघ । काठमाडौं उपत्यकामा ९ ओटा सडक विस्तारको काम सम्पन्न भएको छ । लैनचौर–महाराजगन्ज–बूढानीलकन्ठ ८.३५० किमी, गौशाला–बानेश्वर–शंखमूल ३.४३० किमी, माइतीघर–भद्रकाली ०.५५० किमी, माइतीघर–तीनकुने २.६०० किमी, डिल्लीबजार–भाटभटेनी–बालुवाटार ३.२३० किमी, कमलपोखरी–ज्ञानेश्वर–रातोपुल १.५२० किमी, काठमाडौं प्लाजा–जयनेपाल ०.४०० किमी, कालिमाटी–बल्खु–त्रिभुवन विश्वविद्यालय मुख्यद्वार २.२०० किमी र धुम्बाराही–मन्डिखाटार–गोल्फुटार २.४०० किमी लामो सडक विस्तारको काम सम्पन्न भएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । दोस्रो चरणमा निर्माण सुरु भएका १० ओटा सडक आयोजना भारतको अघोषित नाकाबन्दीसँगसँगै पेट्रोलियम पदार्थको अभावमा अलपत्र परेको आयोजना प्रमुख मनोज श्रेष्ठले जानकारी दिए ।
‘सिनामंगल, बागबजार, जडीबुटी, पेप्सीकोला, विष्णुमती कोरिडोरको बालाजुपुल, शोभाभगवती, त्रिभुवनविश्वविद्यालय मुख्यद्वार, ल्याबोरेटोरी विद्यालय, गौशाला र एअरपोर्टको पैदलमार्ग निर्माण, बुद्धनगर–शंखमूल र तीनकुनेको राजा जनक मार्ग निर्माण कार्य डिजेलकै अभावले रोकिएको छ’–उनले भने । यी सडक पूरा गर्न रु दुई लाख ९० हजार लिटर डिजेल र ८२ हजार लिटर मट्टीतेल आवश्यक पर्ने आयोजनाले जनाएको छ ।
यसवर्ष त्रिपुरेश्वर–कलंकी–नागढुंगा १२ किमी र साँखु–चाबहिल १२ किमी सडक विस्तारका लागि ठेकेदार छनोट गरी काम सुुरु गरिएको छ । – रासस