कांग्रेसको जिल्ला अधिवेशन हुँदै
काठमाडौं, २५ माघ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीका अनुसार आज ६५ जिल्लामा अधिवेशन हुँदैछ । संयोजक अधिकारीका अनुसार केही जिल्लामा क्षेत्रीय अधिवेशन नसकिएकाले ६५ जिल्लामा मात्र अधिवेशन हुने छ । ५४ जिल्लाका एक सय ९१ निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनधि छनोट भइसकेका छन् भने क्षेत्रीय अधिवेशन पनि सकिएको छ । एउटा मात्र निर्वाचन क्षेत्र भएका १४ जिल्लामा आज एकैपटक जिल्ला अधिवेशन र प्रतिनिधि छनोटको काम हुने निर्वाचन समितिले जनाएको छ ।
केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेका अनुसार दाङमा भने जिल्ला अधिवेशन मंगलबारका लागि सारिएको छ । त्यस्तै रौतहटमा पनि संस्थापन पक्ष र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षबिच विवाद हुँदा सोमबार अधिवेशन नहुने भएको छ ।
यस्तै सोलुखुम्बुको २ वटा निर्वाचन क्षेत्रमा भने गाउँ, नगर वडा र नगरको अधिवेशन आजसम्म सक्ने तयारी गरिएको छ । काँग्रेसको १३औँ महाधिवेशन आउँदो फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा हुँदैछ ।