मोर्चाले नाकामा धर्ना नदिने
काठमाडौ, २५ माघ । तमलोपा अध्यक्ष महन्थ ठाकुरको निवासमा बसेको मधेशी मोर्चाको बैठकले नाकामा धर्ना दिने कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । मोर्चाले लाठी जुलुस प्रदर्शन लगायतका दबावमुलक नयाँ कार्यक्रम भने घोषणा गरेको छ । बैठकमा चार दलका चार अध्यक्षहरु मात्र सहभागी थिए । मधेसी मोर्चाले सोमबार दिउँसो विज्ञप्ति जारी गरेर नाका अवरोध स्थगित गरि दबावमुलक आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो । मधेसी मोर्चाले फागुन ५ गते तराई मधेसका जिल्ला सदरमुकामहरुमा लाठी जुलुस प्रदर्शन गर्ने र ७ गते विरोधसभा गरेर आफ्नो ११ बुँदे मागबारे हस्ताक्षर संकलन गरेर जनमत बुझ्ने निर्णर्य गरेको छ ।
मधेसी मोर्चाले राजश्व नतिर्ने, राजमार्ग बन्द गर्ने र सीमा नाकामा धर्ना दिने कार्यक्रम भने स्थगित गरेको छ । सीमांकन हेरफेर लगायतको माग राख्दै आन्दोलनमा उत्रिएको मधेसी मोर्चाले असोज ७ गतेदेखि नेपाल भारतका सीमा नाकाहरुमा धर्ना दिँदै आएको थियो ।