चीनसँग सीमा जोडिएका चार मार्ग यसरी निर्माण हुँदैछ

२०७२ माघ २९ गते, शुक्रबार

काठमाडौँ, २९ माघ । चीनसँग सीमा जोडिएका चारवटा मार्ग निर्माण, विस्तार र कालोपत्रे गर्ने कामलाई सरकारले प्राथमिकतासाथ अगाडि बढाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दुई वर्षमा सक्ने गरी सङ्खुवासभाको किमाथाङ्का, सिन्धुपाल्चोकको तातोपानी, रसुवाको केरुङ् र मुस्ताङ्को कोरला नाकालाई निर्माण, विस्तार एवम् कालोपत्रे गर्ने कार्यलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको मन्त्रालयका प्रवक्ता देवेन्द्र कार्कीले जानकारी दिनुभयो । “विराटनगर–किमाथाङ्का ३१० किमी सकडमध्ये ८४ किलोमिटरको ट्र्याक खोल्न बाँकी छ, अन्य स्थानको सडकलाई स्तरोन्नति गर्ने काम भइरहेको छ, दुई वर्षमा काम सम्पन्न हुन्छ”–उहाँले भन्नुभयो ।
तातोपानी नाकाको बाह्रबिसेदेखि कोदारीसम्मको ४० किलोमिटर सडकलाई पनि यस अवधिमा कालोपत्रे गरिनेछ ।
रसुवाको केरुङ् नाकासम्मको सडकलाई दुई लेनको बनाई कालोपत्रे गरिने भएको छ । गल्छी, रसुवागढी ८२ किलोमिटर सडक दुई लेन बनाई कालोपत्रे गर्न बाँकी रहेको र अन्य खण्डको सडक स्तरोन्नति भइसकेको सडक विभागले जनाएको छ ।
रुपन्देहीको बेल्हैयादेखि कोरला नाकासम्मको ३९० लिोमिटर दूरीमध्ये म्याग्दीको राम्दीदेखि कोरलासम्मको ३०२ किलोमिटर कालोपत्रे गर्न बाँकी छ । जोमसोम–कोरला १०० किमी सडक ग्राभेल मात्र गरिने बताइएको छ ।
चारवटै नाकाका सडक कालोपत्रे गर्नका लागि एक किलोमिटर बराबर रु ६ करोडदेखि रु १० करोडसम्म लाग्ने अनुमान गरिएको प्रवक्ता कार्कीले राससलाई जानकारी दिनुभयो ।
यो सडकमध्ये बाह्रबिसेदेखि तातोपानीको ४० किलोमिटरलाई र स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको १५ मिटरको निर्माण, विस्तार, कालोपत्रे र स्तरोन्नतिका लागि चीन सरकारले सहयोग गर्ने इच्छा प्रकट गरेको मन्त्रालयले जनाएको छ ।
दुई वर्षमा चारवटै नाकाको काम सम्पन्न गरी १२ महिना सञ्चालन हुने अवस्थामा पु¥याउने मन्त्रालयको लक्ष्य छ ।- रासस

प्रतिक्रियाहरु

[anycomment]