एजेन्ट खारेज गर्ने संघको निर्णय
काठमाडौँ, २९ माघ । वैदेशिक रोजगार व्यवसायी संघले एजेन्ट खारेज गर्ने निर्णय गरेको छ ।एजेन्टका कारण वैदेशिक रोजगारमा जाने कामदार ठगिएको भन्दै संघले सो निर्णय गरेको हो । वैदेशिक रोजगार ऐनमा एजेन्टले निले शुल्क नतोक्दा एजेन्टले मनपरि शुल्क लिएको र एजेन्टका नाममा दलाल सक्रिय भएपछि एक महिना भित्रमा एजेन्ट खारेज गरिसक्न संघले व्यवसायीलाई परिपत्र गरेको हो । वैदेशिक रोजगार ऐन २०६४ को दफा ७४ (१) बमोजिम इजाजतपत्रवाला संस्थाले ऐजेन्ट नियुक्ति गरी प्रधान कार्यालयसम्म कामदार ल्याउन सहयोग गरिरहेको भएपनि एजेन्टका नाममा कामदार ठगेर व्यवसायलाई नै बदनाम गराएको भन्दै खारेज गर्ने निर्णय गरेको माहासचिव रोहन गुरुङले बताउछन । ऐनअनुसार नियुक्ति गरिएका एजेन्ट र एजेन्टका कार्यालय एक महिना भित्रमा खारेज गरिसक्न भन्दै संघले शुक्रबार सबै वैदेशिक रोजगार व्यसायीलाई पत्र पठाएको छ । अब ऐनको दफा ७४ (१) को व्यबस्थाबमोजिम इजाजतपत्रवाला संस्थाको निगरानीमा रहने गरी शाखाकार्यालय खोल्ने व्यवस्था गर्न वैदेशिक रोजगार विभागलाई अनुरोध गर्ने संघले बताएको छ ।
विभागको स्वीकृतिमा इजाजतपत्रवाला व्यवसायीले काठमाडाै बाहिर शाखाकार्यालय राख्न चाहेमा कर्मचारी नियुक्ति गरी शाखा कार्यालय स्थापना गर्ने व्यवस्था गर्न सरकारलाई अनुरोध गर्ने संघले जनाएको छ । संघले एजेन्ट परिचालनबाट कामदारलाई आर्थिक भार परेको भन्दै कामदारप्रति उत्तरदायी बन्न यवसायीलाई अनुरोध गरेको हो । एक महिनापछि पनि एजेन्ट रहेको पाइए र यो निर्णयको वेवास्ता गरे संघको विधानअनुसार कारवाहि गर्ने तथा वैदेशिक रोजगार विभागलाई कारवाहीका लागि पत्रचार गर्ने चेतावनीसमेत दिएको छ ।